मोरङमा चट्याङ लागेर तीन जनाको मृत्यु

असार ११,मोरङ-जिल्लाको विभिन्न स्थानमा चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार रंगेली नगरपालिका दोहमना बजारमा चट्याङले लागेर बुधबार दिउँसो दुई बालकको मृत्यु भएको हो।
दिउँसो करिब ३ बजे परेको चट्याङले रंगेली–९ का १५ वर्षीय राजु ऋषिदेव र १६ वर्षीय अभत ऋषिदेवको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जनाए। सडकमा हिंडिरहेका बेला वर्षासँगै परेको चट्याङले लागेर उनीहरु घाइते भएका थिए।
उपचारका लागि अस्पताल पु¥याएलगत्तै दुवै जनाको मृत्यु भएको हो। दुवैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।
यसअघि रतुवामाइ नगरपलिकामा पनि चट्याङ लागेर एकनजाको मृत्यु भएको थियो। रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउँदै गर्दा चट्याङ लागेर घाइते भएका रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा उनलाई अचानक चट्याङको झट्काले लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार मियाँको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मंगलबारराति मृत्यु भएको हो।
सो खोलामा वर्षायाममा पानीको भेल बढेर बाढी आउने र पुल नहुँदा आवतजावतमा कठिनाइ हुने गरेको छ। जसको अस्थायी विकल्पका रुपमा मला टोलका स्थानीय बासिन्दाले खोलामा बाँसको अस्थायी पुल बनाउने गरेका छन्।
खोला नघटुन्जेलसम्म स्थानीय बासिन्दाले खोला वारपार गर्न अस्थायी बाँसको पुल बनाएर प्रयोग गर्ने गरेका छन् ।
तपाइँको प्रतिक्रिया