माडीमा बढ्दो बाघको आक्रमण, बिहीवार फेरी एक जना गम्भिर घाइते

माडी, असार ११ – माडीको सिमरा गाउँनजिकै दिउँसै बाघको आक्रमणमा परी घाइते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको एक साता बित्न नपाउदै फेरी एक जना गम्भिर घाइते भएका छन् । बाघको आक्रमणमा परी पूर्वी माडीको बगहीँ क्षेत्रमा एक जना गम्भीर घाइते भएका हुन् ।
बुधवार दिउँसो करीब ३ बजे घरनजिकै पशु चौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ९, गोबिन्दवस्ती जेठीबगहीँ निवासी बर्ष अन्दाजी ४० बर्षका इन्द्रबहादुर दुरालाई निगाले बाघले आक्रमण गरेको हो ।
चरिरहेको बाख्रालाई आक्रमण गर्न खोजेको सो बाघलाई ढुङ्गाले हानेपछि दुरालाई बाघले आक्रमण गरेको वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । हात र शरीरका अन्य भागहरुमा घाउ लागेका उनलाई कृष्णनगरस्थित अधिकारी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।
करीब एक साता अघि समेत पशु चौपाया चराउँदै गरेको अवस्थामा माडीको सिमरा गाउँनजिकै दिउँसै बाघले एकजनालाई आक्रमण गरेको थियो, जसको उपचारको क्रममा निधन भएको थियो । निकुञ्ज र यस आसपासको सामुदायिक वनहरुमा जंगली बाघको संख्या बढ्दै जाँदा पशु चौपाया र मान्छेलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।
तपाइँको प्रतिक्रिया