घोगामा दाना नलागेपछि मकैको बोट मास्दै चितवनका किसान

सूर्यप्रसाद अधिकारी, असार १०, चितवन। भाँच्ने बेलाको मकैका घोगामा दाना नलागेपछि चितवनका किसानले मकै नष्ट गर्न थालेका छन । श्रेष्ठा जातको मकैको बीउ लगाएका भरतपुर–६, केशरबाघका किसानले अर्को बाली लगाउनका लागि मकै नष्ट गर्न थालेका हुन ।
कृषि ज्ञान केन्द्र , भरतपुरले दिएको जानकारी अनुसार ती स्थानका ८ विगाहा क्षेत्रफल भएका २२ किसानले राहतको लागि कार्यालयमा आवेदन समेत दिएका छन । विगतका बर्षहरुमा यस जातको मकै उत्पादन राम्रै भएपनि यसबर्ष यो जातको मकैको घोगामा दाना लागेको छैन ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ केशरबाघका किसान बिष्णु मिश्र घोगामा मकै नलागेपछि बोटनै काटेर गाईवस्तुलाई खुवाएको बताउनु हुन्छ । ‘मकैमा चमरा लागेपछि नत मकैको घोगा बढ्यो, कोट्यार हेर्दा कत्तिपनि दाना छैन ।’ उहांँले भन्नुभयो । यसअघि सोही जातको मकै लगाउंँदा उत्पादनमा कुनै असर नपरेको उहांँले बताउनु भयो ।
सोही वडाकी शान्ता तिवारी पनि आफूले लगाएको १० कट्टा जग्गामा लगाएको मकै खेतीमा दाना नलागेपछि बारीनै जोतेको बताउनुहुन्छ । ‘मकैमा घोगा नलागेपछि के गर्नु, अर्को बालीको लागि तयार हुनुपर्यो’ उहांँले भन्नुभयो । राहत तथा क्षतिपूर्तीको लागि कृषि ज्ञान केन्द्रमा आवेदन नभएपनि सुनुवाई नभएको उहाँले बताउनु भयो । उनीहरुजस्तै सो वडाका कृष्ण तिमिल्सीना, केसरी ठकुरी, ऋषिराम चापागाइ लगायतले पनि मकैको बोट काटेर घांँसको रुपमा प्रयोग गरेको बताए ।
कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेल चितवनमा अत्याधिक तापक्रमको कारण यस्तो समस्या आएको बताउनुहुन्छ । ‘यो उन्नत जातको मकै हो उहांँले भन्नुभयो, यो मकै लगाउंँदा न्यूनतम १० ड्रिगी र अधिकतम ३५ डिग्री भन्दा बढी तापक्रम हुनुहुदैन । ’उहाँका अनुसार घोगामा मकै लाग्ने बेलामा चितवनको तापक्रम ३५ डिग्री भन्दा बढी भएको कारण दाना नलागेको हो । किसानका राहत तथा क्षतिपूर्तीको लागि कार्यालयलबाट केही व्यवस्था नभएपनि सम्बन्धित बीउवीजन कम्पनीसंँग ताकेता गरिरहेको उहांँले जानकारी दिनु भयो ।
मकैबाली अनुसन्धान केन्द्र रामपुरका वरिष्ठ बैज्ञानिक चित्रबहादुर कँुवर मौसम परिवर्तन भएका कारण घोगामा दाना नलागेको बताउनु हुन्छ । ‘ एकत मकैको परागसेचनको बेलामा चितवनको तापक्रम अत्याधिक बढ्यो उहांँले भन्नुभयो, अर्कोकुरा किसानले प्राविधिक सल्लाह नगरी मकै लगाए ।’ उहांँका अनुसार तापक्रम छलेर मकै नलागाएका कारण यो समस्या आएको हो । श्रेष्ठा जातको हाइब्रिड मकै कम्पनी नुजिविड सिड्स लिमिटेडका नेपालका लागि सहायक प्रबन्धक थ्रि प्रसाद पालिखे किसानले मकै लगाउन ढिला गरेकै्र कारण दाना नलागेको बताउनुहुन्छ ‘ यही बीउ समयमै लगाउंँदा बारा ,पर्सा, रौतहट । सर्लाहीमा राम्रो उत्पादन छ, उहाँले भन्नुभयो, यहाँ नहुनु भनेको बीउको खराबी होइन ’ उहांँका अनुसार चितवनका किसानले माघको दोस्रो सातासम्म लगाउनु पर्ने मकै फागुनको पहिलो सातामा लगाएका कारण दाना नलागेको पालिखेको भनाई छ । किसानको क्षतिपुर्तीको लागि कम्पनीसंँग पनि छलफल भइरहेको उहांँले बताउनु भयो ।
टी एक्स एन र पायोनियर जातको मकैमा पनि दाना लागेन
श्रेष्ठा जातको मकैजस्तै टी एक्सन र पायोनियर कम्पनीका मकैका बीउहरुमा समेत दाना नलागेको किसानहरुले गुनासो गरेका छन । बिशेषगरी, पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, पार्वतीपुरका किसानले लगाएका यी जातका मकैमा दाना नलागेको हो ।
ती क्षेत्रका किसानका बारीमा दाना नलागेको जानकारी भएपछि प्राविधिक टोलीले नमुना सकलन गरेर ल्याएको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ । यसको विस्तृत अध्ययनपछि के कारणले दाना नलागेको बल्ल भन्न नसकिने बाली किास अधिकृत माधव पौडेलले बताउनु भयो । हालसम्म अधिकांश किसानको दाना नलाग्ने समस्या आएपनि कार्यालयमा जम्मा २२ जना किसानले आवेदन दिएका छन । सो क्षेत्रका केही किसानले मकैको बोट काटेर धानखेतीको लागि बारी जोताउन शुरु गरेको उहांँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया