बन्दको पूर्वसन्ध्यामा पोखरामा पर्चासहित बमको त्रास
असार ९, पोखरा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन गण्डकी प्रदेश राजधानी पोखराको व्यापारिक क्षेत्र सिद्धार्थचोकमा बमको त्रास फैलाइएको छ ।
अपरान्ह ४ बजे पोखराकै व्यस्त ठाउँको तरकारी र फलफुल बजार सञ्चालन गरेको फेवा एग्रिकल्चर प्रालिको भित्री परिसरमा नीलो पाईपमा घडी जडित शंकास्पद वस्तु भेटियो । पोखरा महानगरपालिका ८ स्थित उक्त मन्डीमा तरकारी र फलफूलको गरी एक सयवटा सटर छन् ।
दिउँसो सवा ४ बजे मान्छेहरुको भिडभाड बढेको बेलामा एक्कासी बमको राखिएको हल्ला फैलिएको थियो । त्यतिबेला त्यहाँ करिब दुई सय ग्राहकहरु रहेको एक व्यापारीले बताए । पिक टाइम सुरु हुँदा नै हल्ला फैलियो”, उनले भने ।
मन्डीको पार्किङ स्थलमा स्थानीय व्यापारीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खरिदबिक्री हुने समयमा अहिले मन्डीका सबै पसलहरु बन्द छन् । ठूलो संख्यामा भिड बाहिर जम्मा भएको छ ।
उक्त शंकास्पद वस्तुसँगै नेकपा कास्की लेखिएको पर्चासमेत भेटिएको छ । पर्चामा ‘बन्द सफल पारौँसहित टाईम बम जडित डिटोनेटरेड अटोमेटिक बम’ लेखिएको छ । नेपाल बन्दको आह्वान र पर्चा भेटिएपछि प्रहरीले विप्लव नेकपाप्रति आशंका गरेको छ । हालसम्म कोही पनि पक्राउ भने परेका छैनन् ।
घडी पनि जडान भएको हुँदा सुरक्षा निकायले ‘टाईम बम’ को आशंका गरेको छ । तर, यसको पुष्टि भने हालसम्म भएको छैन् । घटनास्थलमा नेपाली सेनाको बम डिष्पोजल टोली पुगिसकेको छ ।
“डिष्पोजलको प्रक्रियामा छ, सुरक्षा व्यवस्था कडा बनाइएको छ”,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । गत असार ५ गते नेकपाका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएपछि नेकपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । यस्तै, नेकपाले उक्त दोहोरो भिडन्तलाई गैरन्यायिक हत्या गरेको बताएको छ । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया