नेपालमा प्रसारण हुने बिदेशी च्यानलहरु बन्द

काठमाडौं, असार ०९ – इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा नेपालमा बिदेशी च्यानलहरु बन्द गरेका छन् । प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरिएको हो । ति च्यानलहरु मंगलबार दिउँसो ३ बजे सम्मको लागि बन्द गरिएको टेलिभिजन सेवा प्रदायकहरुले बताएका छन् ।
उनिहरुले प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै बिदेशी च्यानलहरु बन्द गरेका हुन् । २०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ को दफा ६ (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ ।
इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ । नेपालमा प्रसारित च्यानलहरुमध्ये ८५ प्रतिशत बिदेशी च्यानलहरु रहेका छन् ।
तपाइँको प्रतिक्रिया