मन्त्री यादवलाई बुझाउने भनिएको कपास उद्योगीका ज्ञापनपत्र खोसियो

काठमाडौं, असार,०८ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएपछि आक्रोशित उनीहरुले मागको बेवास्ता गरेकाले आफूहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरुले अवैधानिक कार्यविरुद्ध प्रतिकारमा उत्रन वाध्य हुनुपर्ने बताएको हो ।
महासंघकी अध्यक्ष चन्दना कोइरालाले घुम्ती उद्योग रोक्ने माग देखेर मन्त्री यादवले भेट रोकेको भन्दै तत्काल अवैधानिक घुम्ती उद्योग नरोके प्रतिकारको विकल्प नभएको बताइन् । उनले भनिन्,‘हामी प्रतिकारमा उत्रदा उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनुपर्छ ।’
आइतबार अपरान्ह उद्योग व्यवसायलाई धराशायी बनाउने गरी अवैधानिक घुम्ती उद्योगलाई प्रश्रय दिएको लगायतका समस्या लिएर सिंहदरबारस्थित मन्त्रालय पुगेका उद्योगी व्यवसायीको ज्ञापनपत्र मन्त्रीका स्वीकीय सचिव सन्तोष बिष्टले खोसेर मन्त्रालयभित्र गायब बनाएको व्यवसायीले जानकारी गराए ।
महासंघले पत्रकार सम्मेलनमार्फत् आफूहरुमाथि भएको दुव्र्यवहारको घटनाको समेत जानकारी गरायो । महासंघका अध्यक्ष चन्दना कोइरालाले १६ दिनदेखि भेट्ने समयका लागि मिहेनत गरेपछि पाँच दिनअघि तय भए अनुसार ज्ञापनपत्र लिएर कुर्दा खोसेर गायब बनाइएको बताए । उनले भने,‘ज्ञापनपत्र गायब बनाएर मन्त्रीज्यूसँगको भेट रद्द गराएर मन्त्रालयबाट हटाइयो ।’
मन्त्रीसँग भेट रद्द भएपछि व्यवसायीले मन्त्रालयको मूल ढोकामा कुरेर बसेको र मन्त्री यादव निस्कदा छेकेर आफ्नो कुरा राख्न खोज्दा सुरक्षाकर्मीले हटाएको कोइरालाले जानकारी दिए । उनले भने,‘मन्त्रीज्यूले देशलाई वार्षिक ८९ करोड कर तिर्ने व्यवसायीको समस्या नसुनी बेवास्ता गर्नुभयो ।’ मन्त्री यादवका स्वकीय सचिव सन्तोष बिष्टले ज्ञापनपत्र समेत गायब बनाएर भेट रोकेको बताए ।
तपाइँको प्रतिक्रिया