एनिक नायक बन्दा अभिषेक चर्चलाई चितवन च्याम्पियनसिपको उपाधी

चितवन, असार ०८ – बिदेशी खेलाडी एनिकको नायकी प्रदर्शनको मद्दतमा अभिषेक चर्च रहजरले पाँचौँ हनामी चितवन च्याम्पियनसिपको उपाधी हात पारेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालयलाई २-१ ले पाखा लगाउदै अभिषेक चर्चले उपाधी उचालेको हो ।
अभिषेक चर्चलाई उपाधी दिलाउन दुबै गोल बिदेशी खेलाडी एनिकले गरे । जुनियर प्रहरी अधिकृत शिक्षालयका तर्फबाट सन्तोष हेमरनले गोल गरे । खेलमा अग्रता भने जुनियर प्रहरी अधिकृत शिक्षालयले लिएको थियो । सन्तोष हेमरनले पहिलो हाफको ११ औं मिनेटमा गोल गोल गर्दै जुनियर प्रहरी अधिकृत शिक्षालयलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा जुनियर प्रहरी अधिकृत शिक्षालयले अभिषेक चर्चलाई केही दबाबमा राखेको थियो । अभिषेक चर्चले पहिलो हाफमा जुनियर प्रहरी अधिकृत शिक्षालयको पोस्टमा शशक्त प्रहार गर्न सकेन । दोस्रो हाफमा भने अभिषेक चर्च खेलमा फर्कियो । दोस्रो हाफको सुरुवातमा नै अभिषेक चर्चले खेल बराबरी गर्ने अवसर प्राप्त गरेको थियो ।
जुनियर प्रहरी अधिकृत शिक्षालयका खेलाडीले बिपक्षी खेलाडीलाई डि बक्स भित्र फल गरे पछी रेफ्रीले पेनाल्टी दिएका थिए । तर अभिषेक चर्चका एनिकको पेनाल्टी जुनियर प्रहरी अधिकृत शिक्षालयका गोल रक्षक सन्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरे । तर त्यस पछी आक्रमक खेल प्रस्तुत गरेको अभिषेक चर्चले ६६ औं मिनेटमा बराबरी गर्यो । उसका लागि एनिकले उत्कृष्ट हेडर गोल गरे । यस्तै खेलको ८०औं मिनेटमा एनिकले एकल प्रयासमा सुन्दर गोल गर्दै अभिषेक चर्चको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्य तिर जुनियर प्रहरी अधिकृत शिक्षालयले गोल गरे पनि रेफ्रीले अफसाइड दिए पछी त्यसले मान्यता पाएन । बाँकी समयमा थप गोल हुन सकेन र अभिषेक चर्च २-१ ले बिजयी भयो । खेलको म्यान अफ द म्याच अभिषेक चर्चका एनिक घोषित भए ।
उपाधी बिजेता बनेको अभिषेक चर्चले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको जुनियर प्रहरी अधिकृत शिक्षालयले १ लाख ५० हजारमा चित्त बुझाउन वाध्य भएको छ । यस्तै तेस्रो भएको जु फुटबल क्लब जुगेडीले २५ हजार प्राप्त गर्यो ।
प्रतियोगिताभरको उत्कृष्ट खेलाडी अभिषेक चर्चका अजित गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे । यस्तै अभिषेक चर्चका एनिक सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर ६ गोल गरेका थिए । उनले १० हजार प्राप्त गरे । जुनियर प्रहरी अधिकृत शिक्षालयका सन्जित श्रेष्ठ उत्कृष्ट गोल रक्षक, अभिषेक चर्चका मान बहादुर तामाङ उत्कृष्ट डिफेन्डर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । उनिहरुले जनही १०-१० हजार प्राप्त गरे ।
बिजेता र उपबिजेतालाई पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार बितरण गरे । पुरस्कार बितरण गर्दै प्रचण्डले खेलको माध्य्मबाट राष्ट्रलाई विश्वभर चिनाउन सकिने बताए । उनले देशको बिकास र समृद्दी खेलबाट नै सम्भव हुने बताए । यस्तै उनले फुटबल आफुलाई निकै मन पर्ने खेल भएको समेत बताए ।
तपाइँको प्रतिक्रिया