अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ को छायाँकन २९ दिनमा सकियो

काठमाडौं,असार ८ – अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’ को छायाँकन सकिएको छ ।झापा र काठमाडौँमा छायाँकन गरिएको ‘रातो टिका निधारमा’ को २९ दिनमा सम्पूर्ण छायांकन सकिएको हो ।
चलचित्रको गीतबाट छायाँकन सुरु गरिएको ‘रातो टिका निधारमा’ को झापाबाट सुरु गरिएको छायाँकन काठमाडौँमा आएर सकिएको निर्देशक शर्माले जानकारी दिए । कलाकारको राम्रो साथ, सहयोग र मौसमको कारण समयमै छायाँकन सकिएको शर्माले बताए ।झापामा छायाँकन गरिएको शिर्ष गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा फिचरिङ छन् ।
दशैँ रिलिज गर्ने तयारी रहेको यस ‘रातो टिका निधारमा’ चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन दर्शक माझ प्रतिक्षित छ । भव्य सेटमा छायाँकन गरिएको यस गीतमा वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठको कोरियोग्राफी छ । यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए ।
यस चलचित्र मार्फत नेपाली रजतपटमा निर्देशक शर्माको छोरा अंकितले डेब्यु गरेका छन् । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको ‘रातो टिका निधारमा’ किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा छन । शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा मित्र देव गुरुङको सम्पादन रहने छ ।
तपाइँको प्रतिक्रिया