बाघको आक्रमणबाट घाइते भएका सुवेदीको उपचारको क्रममा मृत्यु

चितवन, असार ०७ – बाघको आक्रमणबाट घाइते भएका माडी कल्याणपुर घर भएका गंगाधर सुवेदीको उपचारको क्रममै निधन भएको छ । भरतपुर अस्पतालमा उपचार गराईरहेकी सुवेदीको शनिबार दिउँसो करीब ३:३० बजे मृत्यु भएको रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीले जानकारी दिए ।
गत असार ३ गते दिउँसो करीब १२:४० बजे माडीको सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर तमुचोक निवासी अन्दाजी ४५ बर्षका सुवेदीलाई बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेलगत्तै नजिकै रहेका गोठालाहरुले होहल्ला गर्दै बाघलाई धपाएका थिए । उनको टाउको र शरीरका अन्य भागहरुमा गहिरो घाउ लागेको थियो ।
उपचारको क्रममा उनको टाउकोको सफल शल्यक्रिया भएपनि शनिबार अचानक उनको मृत्यु भएको हो । उनको आज नै देवघाटमा अन्तिम संस्कारसहित अन्त्येष्ठी गरिने परिवार श्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रिया