प्रहरी इन्स्पेक्टर भन्दै फोनबाट धम्क्याउने एक जना पक्राउ

असार ६,नेपालगञ्ज– प्रहरीको इन्स्पेक्टर भन्दै सर्वसाधारणलाई धम्क्याउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँके डुडुवा गाउँपालिका–२, बेतहनीका ३२ वर्षीय मुरली कोरीलाई प्रहरीले पक्राउ गरेको हो। कोरीले आफू प्रहरीको इन्स्पेक्टर भएको भन्दै विभिन्न व्यक्तिलाई फोन गरेर पैसा माग्ने गरेका थिए। जिल्ला प्रहरी कार्यालय, बाँकेमा तीन जना त्यस्ता पीडित आएपछि प्रहरीले दुई हप्ता लगाएर कोरीलाई पक्राउ गरेको हो।
‘दुई हप्ताअघि एकजनाले आफूलाई प्रहरी भन्दै फोनमा धम्क्याएर पैसा माग्ने गरेको उजुरी लिएर एकजना आए। हामीले अनुसन्धान थाल्यौँ। तर, केही फेला परेन। घटना साम्य भयो। फेरि अहिले दुई जना त्यस्तै उजुरी लिएर आए, जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दा फाँटका इन्चार्ज दीपक मल्लले भने, ‘फोन नम्बरका आधारमा खोज्दै जाँदा कोरी पक्राउ परे। कोरीले अझै धेरैलाई धम्क्याएको हुन सक्छ।’
बाँके प्रहरीले कसैले प्रहरी हुँ भनेर कसैले धम्क्याएको छ भने उजुरी दिन आग्रह गरेको छ। नेपालगञ्ज–२०, राँझामा बस्ने गरेका कोरीले फोनबाट धम्क्याउने र कसैले डराएर पैसा दिए लिने गरेको पाइएको छ। यद्यपि, अहिलेसम्म प्रहरीको सम्पर्कमा पैसा दियौँ भन्ने कोही आइपुगेका छैनन्।
कोरीले आफू जिल्ला प्रहरी कार्यालय, बाँकेको इन्स्पेक्टर भएको भन्दै फोनमा धम्क्याउने गरेका थिए। पैसा नै लिएको या अन्य अपराधिक गतिविधि गरेको उजुरी नआएकाले अहिलेलाई प्रहरीले कोरीलाई सार्वजनिक मुद्दा लगाएको छ। उसले विभिन्न व्यक्तिलाई फोनमा धम्क्याएर डर, त्रास सिर्जना गरेको प्रहरीको भनाई छ।
तपाइँको प्रतिक्रिया