नक्कली एटीएम प्रयोग गरी वाणिज्य बैकको २० लाख भन्दा बढी रकम चोरी
असार ६,काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकबाट ‘नक्कली’ एटीएम प्रयोग गरी करिब २० लाखभन्दा बढी नेपाली रुपैयाँ झिकिएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले एक साताभन्दा लामो अनुसन्धानपछि एक नेपालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा स्थायी घर भइ शंखमुल बस्ने ३३ वर्षीय राजुकुमार पान्डे रहेका छन्। उनलाई तीन जना रोमानियनले प्रयोग गरी उक्त रकम झिकेको सीआइबीको दावी छ। ती तीनै जना रोमानियन नागरिक नेपालबाट तीन साताअघि बाहिरिसकेको सीआइबीले जनाएको छ।
सीआइबी प्रवक्ता एसपी दीपक रेग्मीका अनुसार रोमानियनले बैंक अकाउन्टका डाटा चोरेर नेपालमा आई एटीएमबाट पैसा झिकेका हुन्। ‘ पैसा झिकिएका सबै अकाउन्ट विदेशीको र विदेशमा रहेका बैंकमा रहेका खाताबाट छन्’, प्रवक्ता रेग्मीले भने। रोमानियनले एटीएमबाट पैसा झिक्न सुरुमा पान्डेलाई साथी बनाएको र योजना बताएपछि मिलेर काम गरेको प्रहरीले जनाएको छ।
‘निकालिएको रकममध्ये पान्डेलाई पनि राम्रै हिस्सा दिइएको अनुसन्धानबाट देखिन्छ’, एसपी रेग्मीले भने।
नक्कली एटीएमबाट नेपालमा पैसा झिकिएको यो पहिलोपटक होइन। हालसम्म यस्ता घटनामा ६ नेपाली, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन पक्राउ परेका छन्। यी घटनामा एक हजार तीन सय ६९ थान एटीएम कार्ड बरामद भएको सीआइबीले जनाएको छ। देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया