माडीमा बिहीवारबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा शुरु हुँदै

माडी, असार ०४ – प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन गरेका माडीका बेरोजगार व्यक्तिहरुले भोलिबाट काम सुरुवात गर्न लागेका छन् । माडीको कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात भएको स्थानमा ४० जना, सोमेश्वर क्षेत्रमा भू-संरक्षणका लागि ३० जना र छरछरेमा चौतारो निर्माणका लागि ३० जनाले काम सुरुवात गर्न लागेका हुन् ।
कुल १०० जनाले भोलिबाट २० दिनका लागि काम सुरुवात गर्न लागेको माडी नगरपालिकाका रोजगार संयोजक यमुना ढकालले जानकारी दिनुभयो । यसका अतिरिक्त भु-संरक्षणकै काम अन्तरगत घाँघर खोलामा १५ जना, प्याउली खोलामा १५ जना र मगुई १५ खोलामाले १० दिनसम्म ड्याममा बाँस लगाउने काम गर्ने संयोजक ढकालको भनाई छ । माडी नगरपालिकामा १ हजार १ सय ६८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन फारम भरेका छन् जसमा महिलाको संख्या अधिक रहेको जनाइएको छ ।
कार्यक्रम अन्तरगत दिनको रु ५१७ का दरले वर्षको कम्तीमा १०० दिन रोजगार दिइने र वर्षभरी नै काम नपाए बेरोजगार व्यक्तिको परिवारले उक्त अवधीमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने व्यवस्था गरिएको छ । संघीय सरकारले सञ्चालन गरिरहेको यो कार्यक्रम देशैभरका स्थानीय निकायहरुमा लागु गरिएको छ ।
तपाइँको प्रतिक्रिया