चारदिने कृषि मेला सकियो, प्रांगारिक र अर्गानिक खेती प्रणालीमा जोड

असार ३, चितवन। कृषि तथा वन विश्वविद्यालय,रामपुरमा सञ्चालनमा आएको चारदिने कृषि प्रर्दशनी तथा कृषक मेला आज मंगलवार सकिएको छ।
कृषि क्षेत्रमा प्रयोग गरिने प्रविधि, यस क्षेत्रमा भएका अनुसन्धान र आविश्कार गरिएका कृषिजन्य बीउबीजनको प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले समापन गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै मन्त्री लामाले कृषि उत्पादनमा व्यवसायिककरण गर्न प्रांगारिक र अर्गानिक खेतीतर्फ जोड दिनुपर्ने बताए । ‘पछिल्लो समयमा उत्पादन बढाउने होडबाजीमा बिषादी को प्रयोग बढ्दै गएको भन्दै यसलाई न्यूनिकरण गरिनुपर्ने उनले बताए । ‘अधिकांश कृषि उपजमा विषादी प्रयोग गरिएको छ, यसले आम नागरिकको स्वास्थ्य प्रतिकुल प्रभाव पारेको छ, उनले भन,े अब यसलाई निरुत्साहित गर्नुपर्छ’ । अन्तराष्ट्रिय स्तरमा समेत बिषादी प्रयोग हट्दै गएको बताउंँदै उनले स्वस्थ उत्पादनको लागि अर्गानिक उत्पादन आवश्यक रहेको बताए । अर्गानिक उत्पादनको लागि अझैपनि कृषकसमक्ष जनचेतना र शिक्षाको अभाव भएका कारण यसले विकराल रुप लिएको बताए ।
कृषि क्षेत्रमा युवावर्गमा विश्वास र आर्कषण बढेको भन्दै उनले नविनतम प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्वमा बृद्धि गर्नुपर्ने उनले धारणा राखे ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति ईश्वरी प्रसाद ढकालले विकास निर्माण बजेट प्रशस्त छुटाएपनि कृषि शिक्षाको लागि न्यून बजेट छुटाएको बताए । कृषिमा अनुसन्धान नगरी उत्पादनमा फड्को मार्न नसक्ने भन्दै कृषिको अध्ययन अनुसन्धानप्रति सरकार गम्भिर रहनुपर्ने बताए । ‘सरकारले अबको पांँच बर्षमा उत्पादन दोब्बर बनाउने बन्छ, कृषिमा बजेट भने जम्मा १० दशमलब २५ प्रतिशत छ’ उनले भने । अझैपनि नेपालमा ३० प्रतिशत खाद्य संकट रहेको बताउंँदै ढकालले कृषिलाई नविनतम प्रविधि र आधुनिकीकरण तर्फ लैजानु पर्ने जोड दिए । विश्वविद्यालयले विश्वका ३० वटाभन्दा बढी विश्व विद्यालयमा आफ्ना विद्यार्थीहरु अनुसन्धानको लागि पठाएको जानकारी दिदै उनले अन्य संकायमा विद्यार्थीहरु पर्याप्त भएपनि कृषि संकायमा पढ्ने विद्यार्थीको संख्या १ दशमलव ३ प्रतिशत रहेको बताए ।
विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा मेला आयोजना गरेको हो । मेलामा पाँच हजार बढि किसानले अबलोकन गरेको बताइएको छ । मेलामा कृषीजन्य उत्पादन, सूचना प्रविधि परिषर, मेशीनरी ,वीउबीजन स्टल रहनुका साथै विश्वविद्यालयले गरेका अनुसन्धान तथा आविश्कारको ३० वटा भन्दा बढी स्टल रहेका थिए ।
तपाइँको प्रतिक्रिया