सुनधारा बिरुद्द सहज जित हात पार्दै अभिषेक चर्च चितवन च्याम्पियनसिपको सेमिफाइनलमा

चितवन, असार ०३ – सुनधारा फुटबल क्लब काठमाडौं बिरुद्द सहज जित हात पार्दै अभिषेक चर्च रजहर पाँचौँ हनामी चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा अभिषेक चर्चले सुनधारालाई ३-० गोल अन्तरले गरेको आयोजक एभरेष्ट क्लब चितवनका सचिव बिकास कोइरालाले जानकारी दिए ।
अभिषेक चर्चको जितमा बिदेशी खेलाडी यानिकले २ गोल गरे । यस्तै सुनिल बलले एक गोल गरे । खेलमा अभिषेक चर्चले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यानिकले गोल गर्दै अभिषेक चर्चलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको अभिषेक चर्चले दोस्रो हाफमा थप २ गोल गर्यो । खेलको ६६ औं मिनेटमा सुनिल बलले गोल गर्दै अभिषेक चर्चको अग्रता दोब्बर बनाए । खेलको ८२ औं मिनेटमा यानिकले ब्यक्तीगत दोस्रो गोल गरे पछी अभिषेक चर्च ३-० ले बिजयी भयो । खेलको म्यान अफ द अभिषेक चर्चका सुनिल बल घोषित भए ।
यसै बिच प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकट काट्नेहरु मध्य प्रत्यक दिन गोला प्रथाबाट दिईने मोबाइल मंगलबार भरतपुर ११ का १४ बर्षिय प्रबिण ढकालले प्राप्त गरे ।
असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ ।
तपाइँको प्रतिक्रिया