भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न गृहमन्त्री थापाको निर्देशन
काठमाडौं, असार ०२ – गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। ट्राफिक प्रहरीले भारतीय सवारीलाई चेकजाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन्। यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ।
गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको छ। यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ।
गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबेगर भारतीय सवारी नरोक्न निर्देशन दिइएको छ। गृहको पत्रमा तेस्रो देशबाट नेपाल भित्रिने ठूला मालवाहक ट्रक र कन्टेनरबारे केही पनि उल्लेख गरिएको छैन।
गृह मन्त्रालयले प्रहरीले क्षेत्राधिकारबाहिर काम गरिरहेकाले यस्तो निर्देशन दिनु परेको जनायो। गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रहरीको काम मालवाहक सवारी रोक्ने नभएकाले गृहले क्षेत्राधिकारबाहिर काम नगर्न निर्देशनमात्र दिइएको बताए।
भारतबाट आउने सवारीलाई सशस्त्र प्रहरीले भन्सारमा जाँच गर्दै आएको छ। नेपाल प्रहरीले प्रज्ञापन पत्र र जाँचपास हुँदा चेकजाँच गर्दै आएको छ। नक्कली प्रज्ञापन पत्र बनाई भन्सार जाँचपास व्यापक हुने गरेको भन्दै प्रहरीले चेकजाँच गर्ने गरेको छ।
सडकको भारवहन क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोक्दै सडकमै कारबाही गर्दै आएको छ। प्रवक्ता सुवेदीले भारक्षमता मापन गर्ने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र तस्करी नियन्त्रण गर्ने काम अर्थ मन्त्रालयको भएकाले गृहले त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए।
तपाइँको प्रतिक्रिया