शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेनाको माग

चितवन, असार ०२ – तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेना सङ्घको केन्द्रीय समितिले माग गरेको छ । सङ्घले यसै क्षेत्रका गृहमन्त्री रामबहादुर थापा र कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर तत्काल काम अघि बढाउन आग्रह गरेको हो ।
नगरप्रमुख श्रेष्ठले आउँदो असार १० गते हुने नगर परिषद्बाट विस्तृत परियोजना अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गर्न लागिएको जानकारी दिनुभयो । श्रेष्ठलाई यसअघि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सङ्ग्रहालयका लागि काम अघि बढाउन आग्रह गरिसक्नुभएको छ ।
जिल्लामा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु हेर्न, थारू संस्कृतिमा रमाउन र डुङ्गा सयर गर्न पर्यटक आउने गरेका छन् । महत्वपूर्ण गन्तव्यको अभावमा पर्यटकको यहाँको बसाइ दुई रात मात्र हुने गरेको छ । युद्ध सङ्ग्रहालय बनेमा थप एक रात पर्यटक राख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । रासस
तपाइँको प्रतिक्रिया