पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन हुन्न : केसी

चितवन, असार ०२ – नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले पोल्ट्री क्षेत्रमा विदेशी लगानी हुन नहुने बताएका छन् । केसीले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन दिने हो भने स्वदेशमा लगानी गरिरहेका व्यवसायीहरु पलायन हुनसक्ने भएकाले यस्तो घातक कार्य नगर्न सरकारसँग आग्रह गरेका हुन् ।
नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले आज चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका नवनिर्वाचित केसीले आफू विदेशी लगानी रोक्नुपर्ने पक्षमा रहेको बताए । कुखुराजन्य उत्पादनमा नेपाल आत्मनिर्भर रहेकाले विदेशी लगानी रोकी यहाँका व्यवसायहरुलाई उचित वातावरण तयार गर्न सरकारसँग उनले अनुरोध समेत गरे ।
‘आफूले विदेशी लगानी रोक्नुपर्छ भनेर लागेपछि नेपाल पोल्ट्री महासंघका अध्यक्ष लगायतका व्यक्तिहरुले मलाई खेदो गर्नुभएको छ – उनले भने, ‘मैले विदेशी लगानी रोकेर यहाँका व्यवसायीलाई प्रमोट गर्नुपर्छ भन्दा वहाँहरुलाई सो कुरा मन नपरेपछि म र मेरो कार्यसमिति नै अवैद्य हो भन्दै विज्ञप्ती जारी गर्नुभयो ।’
अण्डा उत्पादक ९० प्रतिशत भन्दा बढी किसानहरु सहभागी रहेको जेठ २४ गतेको संघको सौराहामा सम्पन्न १५औँ साधारण सभाबाट मलाई उहाँहरुले अध्यक्ष बनाउनुभयो, मेरो रहर थिएन, किसानहरुको अनुरोधमा म अध्यक्ष भएको हुँ – उनले थपे ।’
उनले सौराहामा बनेको नवनिर्वाचित समिति वैधानिक भएको र यस अगाडिको समिति निवर्तमान भइसकेको समेत बताए । सो पत्रकार सम्मेलनमा सौराहामा सम्पन्न १५औँ साधारण सभाको भिडियो रेकर्ड समेत देखाइएको थियो ।
यस्तै केसीले पोल्ट्री व्यवसायमा देखापरेका विभिन्न समस्याहरु समाधान गर्न नेपाल सरकार, कृषि तथा पशुपंक्षी मन्त्रालय समक्ष जोडदार माग समेत गरेका छन् । समितिको तर्फबाट मागहरु गरेका छन् ।
पोल्ट्री व्यवसायमा संकटकाल घोषणा गर्नुपर्ने, देशभरका किसानहरुको पोल्ट्री व्यवसायमा बर्ड फ्लुबाट भएको क्षतिको राहत यथासक्य छिटो उपलब्ध गराउनुपर्ने, नेपाल राष्ट्र बैंकले पोल्ट्रीको क्षेत्रमा भएको यस्तो विषम परिस्थितिमा आवश्यकता अनुसार कर्जा प्रवाह गर्न नवीकरण प्रक्रिया सहज बनाउने र ब्याजदरमा समयनुकूल परिवर्तन गर्ने व्यवस्था मिलाउनुपनर्,े पोल्ट्री व्यवसायमा वैज्ञानिक तरिकाबाट अण्डा उत्पादन र कुखुराको मासुको मूल्य निर्धारण गरी बजारीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया