भारतद्वारा पाकिस्तान पराजित

असार ०२ – रोहित शर्माले उत्कृष्ट शतकिय योगदान गरेको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । विश्वकप क्रिकेट अन्तर्गत गए राती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ ।
इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतले दिएको ३३७ रनको बिशाल लक्ष्य पछ्याएको पाकिस्तानले ब्याटिङ गर्ने क्रममा बर्षा भए पछी खेल ४० ओभरमा छोट्याइएको थियो । खेल ४० ओभरमा छोट्याइए पछी पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याएको पाकिस्तान ४० ओभरमा ६ विकेट गुमाउदै २१२ रनमा समेटियो ।
पाकिस्तानका ओपनर सस्तैमा आउट भएका थिए । पहिलो विकेटको रुपमा इमान उल हक ब्यक्तिगत ७ रन बनाएर आउट भए जती बेला पाकिस्तानको स्कोरबोर्डमा १३ रन रहेको थियो । पहिलो विकेट सस्तैमा गुमाएर खराब सुरुवात गरेको पाकिस्तानको इनिङ अर्का ओपनर फाखर जमान र बाबर आजमले उकासे । जमान ६२ रन बनाएर पेभिलियन फर्किए । उनले ७५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
यस्तै आजमले ५७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४८ रन बनाए । यि दुईले इनिङ उकासे पनि हार टार्न सकेनन् । इमाद वासिम ४० तथा सादब खान २० रनमा नट आउट रहे । भारतका विजय शंकर, हार्दिक पाण्ड्या र कुलदिप यादवले समान २-२ विकेट लिए ।
त्यस अघी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले रोहित शर्माको उत्कृष्ट शतकिय योगदानको मद्दतमा निर्धारित ५० ओभरमा ५ विकेटको गुमाउदै ३३६ रनको बिशाल योगफल खडा गरेको थियो । भारतको लागि ओपनर रोहित शर्माले १४० रनको शतकिय पारी खेले । उनले ११३ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए । उनले ७८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
कप्तान बिराट कोहलीले ७७ रनको उत्कृष्ट पारी खेले । उनले ६५ बलमा ७ चौका प्रहार गरे । हार्दिक पाण्ड्या २६ रन बनाएर पेभिलियन फर्किए भने विजय शंकर १५ तथा केदार यादव ९ रनमा नट आउट रहे । पाकिस्तानका मोहम्मद अमिरले तीन विकेट लिए भने हसन अली र वाहब रियाजले समान १-१ विकेट लिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया