कुनै पनि बेला आक्रमण हुन सक्ने भन्दै डडेल्धुरा अस्पतालका सबै चिकित्सक विदामा

डडेल्धुरा, असार ०१ – सुरक्षाको कारण देखाउदै डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरू विदामा बसेका छन् ।सुरक्षाको कारण देखाउदै अस्पतालमा कार्यरत ११ जना चिकित्सक बिदामा बसेका हुन् । उनिहरुले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई विदामा बस्ने पत्र बुझाएका छन् ।
जुनसुकै बेला पनि आक्रमण हुने खतरा रहेको उनीहरूको भनाई रहेको छ । उनिहरुले मेडिकल सुपरिटेन्डेन्ट कँडेललाई बुझाइएको पत्रमा जेष्ठ ३१ गते शल्य िक्रयाको अमरगढी नगरपालिका ६ का गीता ताम्राकारको निधन भए पछी अस्पातलमा काम गर्ने बातावरण नभएको उल्लेख गरिएको छ । यस बारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउदा सुरक्षा दिनुको साटो उल्टै डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको पत्रमा उल्लेख गरिएको छ ।
चिकित्सकहरूले हालको अवस्था सामान्य नभए सम्म र अस्पातल जस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउनेलाई कारबाही नभए सम्म काममा फर्किन नसक्ने बताएका छन् ।बिदामा बस्ने चिकित्सकहरुमा डा. ललित सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभाष लामिछाने, विकास दुवाडी, बिभव वस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डा.डबल बुढा रहेका छन्।
अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो।उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गरलगायतका नारा लगाउँदै शनिबार महिलाहरुले प्रशासन घेराउन गरेका थिए।
‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ।अपरेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ। तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ।
तपाइँको प्रतिक्रिया