बत्ती बालेर सुत्नु स्वास्थ्यका लागि हानिकारक !

राति टीभी खुल्लै छाडेर वा बत्ती बालिबालि सुत्नुले स्वास्थ्यमा नकारात्मक असर पार्ने एक अनुसन्धानले देखाएको छ । ४४ हजार मानिसमा गरिएको एक अनुसन्धानपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । विशेषगरी यसले शरीरमा मोटोपना सम्बन्धी समस्या गराउन सक्ने बताइएको छ ।
जर्नल ‘जे.ए.एम.ए इन्टर्नल मेडिसीन’ मा प्रकाशित यो खोजमा उल्लेख गरिएअनुसार रातिको समयमा प्रकाश फालिरहेको बत्ती, टीभी, मोबाइलको स्क्रिन लगायतले हाम्रो शारीरिक घडीमा प्रभाव पारिरहेको हुन्छ जसले हाम्रो मेटाबोलिजम अर्थात पाचन तथा ऊर्जा निस्कान गर्ने प्रणालीमा असर पार्दछ जसकारण नै शरीर असन्तुलिन हुने बताइएको छ । यसबारे युनिभर्सिटी अफ सरेका प्रोफेसर मेल्कल्म भोन स्कान्टज भन्छन्, “यो खोजलाई वास्तवमै वैज्ञानिक रुपमा सही भन्न सकिन्छ ।”
किनकि प्रकाश र अँध्यारोसँगको दैनिक सम्पर्कले नै हाम्रो २४ घण्टाको शारीरिक घडी जारी राख्छ जसले मेटाबोलिजमको काम, निद्रालाई बढावा दिने हर्मोनको उत्सर्जन, रक्तचापलगायत अन्य शारीरिक क्रियाकलापलाई नियमति र सन्तुलित अवस्थामा राखिरहेको हुन्छ । यसअघि पनि रातिको समयमा उज्यालोसँग सम्पर्कमा आउनु स्वास्थ्यका लागि राम्रो नभएको सम्बन्धी विभिन्न दाबी गरिएको छ । यसले शारीरिक घडीका साथै खाने व्यवहारमा परिवर्तन ल्याउँदै तौल वृद्धिलाई बढावा दिने गरेको बताइएको थियो । त्यसैले राति सुत्दा उज्यालोबाट टाढा रहनुले मोटोपनाबाट पनि जोगाउन सक्ने अनुसन्धानकर्ताहरुले सुझाव दिएका हुन् ।
अमेरिकास्थित ‘नेस्नल इन्स्टिच्युट अफ इन्भारोमन्ेटल हेल्थ साइन्स’ का अनुसन्धानकर्ताहरुले ३५ देखि ७४ वर्षका झन्डै ४४ हजार महिलाहरुमा पाँच वर्षको अवधिसम्म अध्ययन गरेको हो । जसमा अध्ययन टोलीले उनीहरुको तौल, बडी मास इन्डेक्स र रातिको समयमा प्रकाशसँगको सम्पर्कबारे नियमित जानकारी लिएको थियो ।
यस्तोमा रातिको समय उज्यालोको सामना गर्नुले तौल बढाइ मोटोपनाको विकास गर्ने खतरा वृद्धि गराएको पाइएको हो । यस्तोमा अँध्यारोमा सुत्ने महिलाहरुको तुलनामा बत्ती बालेर वा टिभी खोलेर अथवा मोबाइल हेरेर सुत्नेहरुले आगामी पाँच वर्षमा मोटोपना विकास गर्ने जोखिम १७ प्रतिशतले वृद्धि हुने गरेको पाइएको हो । त्यस्तै उनीहरुमा असिमित रुपले तौल बढ्ने खतरा पनि २२ प्रतिशतले बढ्दै जाने गरेको बताइएको छ । यसका साथै राति बत्ती बालेर सुत्ने बानी हाम्रो अस्वस्थ सामाजिक व्यवहारको लक्षण हुन सक्ने पनि अध्ययनकर्ताहरुको भनाइ छ । जस्तै यसले हामीले असन्तुलित जीवनशैली अपनाइरहेको भन्ने जनाउने बताइएको छ । – टेलिग्राफबाट
तपाइँको प्रतिक्रिया