पाँचौँ चितवन च्याम्पियनसिप : सुनधाराद्वारा रामपुर स्तब्ध

चितवन, जेष्ठ २९ – सुनधारा फुटबल क्लब काठमाडौं चितवनको जारी पाँचौँ चितवन च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा रामपुर फुटबल क्लब रामपुरलाई टाइ ब्रेकरमा पराजित गर्दै सुनधाराले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुबै तर्फबाट १-१ गोल भए पछी खेलको निर्णय टाइ ब्रेकरबाट लिईएको हो । टाइ ब्रेकरमा सुनधारा ४-२ ले बिजयी भएको आयोजक एभरेष्ट क्लबका सचिव बिकास कोइरालाले जानकारी दिए ।
त्यस अघी खेलको २८औँ मिनेटमा रामपुर फुटबल क्लबले अग्रता लिएको थियो । रामपुरका लागि विमल तामाङले गोल गरेका थिए । पहिलो हाफमा रामपुरले अग्रता कायमै राखेको थियो । तर दोस्रो हाफमा सुनधाराले बराबरी गर्यो ।खेलको ६६ औँ मिनेटमा सुन्धाराका लागि विशाल लामाले गोल गर्दै खेल १-१ को बराबरीमा पुराए । बाँकी समयमा दुबै तर्फबाट गोल हुन नसके पछी खेल टाइ ब्रेकरमा धकेलिएको हो । हार पछी रामपुर भने पहिलो चरणबाटै बाहिरिएको छ । खेलको म्यान अफ द म्याच सुन्धाराका गोल रक्षक रोहित कार्की घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीवार पनि एक खेल हुनेछ । बिहीवार हुने खेलमा वसन्तपुर युनाइटेड क्लब माडी र देशभक्त फुटबल क्लब नवलपरासी भिड्ने आयोजकले जनाएको छ ।
असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया