पुरानो मेडिकल कलेज,चितवनमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण

जेठ २९,काठमाडौं– चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । करिब चार वर्षअघि प्रत्यारोपणको लाइसेन्स पाएको कलेजले यसबीचमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।
गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घन्टा लगाएर भक्तपुर–६ निवासी ५४ वर्षीया विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । बतासलाई २५ वर्षीय भान्जा रिजनवीर जोशीले मिर्गौला दिएका थिए ।
‘७२ घन्टा भयो, प्रत्यारोपण गरिएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुसी छौं,’ डा बर्माले भने । उनले अर्को प्रत्यारोपण पनि चाँडै गर्ने बताए ।
प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रविण जोशी, डा सुदीपराज केसी, डा भूषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादव लगायतको टोली खटिएको डा बर्माले बताए ।
प्रत्यारोपण केन्द्रका डा. बर्मा अब भरतपुरमा
सोमबारको मिर्गाैला प्रत्यारोपणपछि उत्साहित डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने बताए ।
उनले अबदेखि आफूले पुरानो मेडिकल कलेजबाट निरन्तर सेवा दिने उनको भनाइ छ । ‘मैले अब यहीँ नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा बर्माले भने ।
यसअघि उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए ।
हाम्रो टोली देशभर फिजिँदैछ : डा पुकारचन्द्र श्रेष्ठ
यता प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उपत्यकाबाहिर प्रत्यारोपण सुरु हुनु राम्रो कुरा भएको बताएका छन् ।
‘पुरानो मेडिकल कलेजमा हालै भएको प्रत्यारोपणमा डा बर्मासहित अधिकांश डाक्टर हामीकहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामीकहाँ ट्रेन्ड भएका डाक्टरहरु जानुभएको छ । यहाँ काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथा लिने कुरा पनि भएन,’ डा. श्रेष्ठले भने ।
उनले प्रत्यारोपण केन्द्र अहिले एकेडेमी जस्तो भएको समेत बताए । ‘हामीसँग सिकेका धेरैले अन्यत्र गएर सेवा दिनुभएको छ । त्यसैले यो एकेडेमी जस्तो भएको छ,’ उनले भने ।
तपाइँको प्रतिक्रिया