अब चितवन मेडिकल कलेजमै बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण हुने

चितवन, जेष्ठ २८ – बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण चितवन मेडिकल कलेजमा नै हुने भएको छ । सोमबार सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गर्दा चितवन मेडिकल कलेजको नाम पनि सुचीमा परेछी बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएको हो ।
यो सँगै चितवन मेडिकल कलेज बैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न पाउने एक मात्र संस्था बनेको छ ।यस्तै स्वास्थ्य परीक्षणका लागी चितवन लगायत आसपासका जिल्लाका मानिसहरु राजधानी नै धाउनु पर्ने अवस्थाको अन्त्य समेत भएको छ ।
स्वास्थ्य परीक्षण सूचीकरणका लागि १२६ स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन दिएको १२६ संस्थाहरुको अनुमगन गरेर मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको हो । मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।सूचीकृत संस्थाले धरौटीवापत ३ लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार शुल्क तिर्नु पर्नेछ । गत चैत १३ गते मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो ।
स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल सूचीकरणमा परेकाले ‘रिपोर्ट’ वास्तविक आउने र जसले गर्दा विदेश गइसकेपछि स्वास्थ्यमा समस्या देखेर कुनै पनि कामदार नेपाल फर्कन पर्ने अवस्थाको अन्त्य हुने मन्त्रालयको विश्वास रहेको छ ।
तपाइँको प्रतिक्रिया