आयातित औलोका कारण औलो निवारणमा चुनौति
जेठ २७, चितवनः सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएपनि आयातित औलाका कारण चुनौति थपिने संभावना बढेको छ। बिशेषगरी भारतको खुल्ला सिमानाका कारण त्यस देशका विरामी नेपालमा र नेपालबाट रोजगारीका लागि गएका नेपालीले औलो संक्रमण ल्याउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ। यसको निवारणका लागि जनचेतना फैलाउनुको साथै सिमानामा कडाई गर्नुपर्ने बताइएको छ । कार्यलयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७२, ०७३ मा स्थानीय ५०६ र आयातित औलाका विरामी ४८५ भएपनि अघिल्ले बर्ष स्थानीय ४९२ र आयातित ६३७ जनामा देखिएको छ । यसैगरी गतबर्ष स्थानीय ५५७ जनामा औलोको संक्रमण भएपनि आयातित औलो ६३० जनामा रहेको तथ्यांक छ । सोही अनुपातमा चितवनमा पनि औलो विरामी सुस्त गतिमा बढिरहेको कार्यालयका भेक्टर कन्ट्रोल राम केसीले जानकारी दिए । तर आयातित औलोका विरामीको संख्यामा केही बृद्धि भएपनि समग्रमा औलोका विरामी घटिरहेको केसीको भनाई छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको माघ महिना सम्ममा ९ जनामा संक्रमण देखिएको छ । ४ हजार २ सय ८६ जनाको परिक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको हो । संक्रमित मध्ये दुई जना स्थानीय रहेका छन् भने अन्य सात जना वाहिरि जिल्लावाट आएको कार्यालयले जनाएको छ ।
घट्दै औलोका विरामी
जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा शंकास्पद ४ हजार २१ जनाको रगतको नमुना परीक्षण गर्दा १५ जनामा औलो रोग देखिएको थियो । ती मध्ये १ जना स्थानीय र १४ जना वाहिरवाट आएका थिए । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा १६ जनामा औलो देखिएको थियो । त्यसवर्ष यहाँका २ हजार दुई सय ५० जनाको रगतको नमुना परीक्षण गरिएको थियो ।
केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरीका ५० घरमा सतर्कता अपनाइने गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो उन्मुलन गर्ने गरी कार्यक्रम भइरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय संक्रमणलाई शून्यमा झार्ने योजना रहेको छ । चितवन सहित देशभरी स्थानीय भन्दा आयातित संक्रमित बढी देखिएको केसीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनमा प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको औलो रोग निवारणका लागि संस्थागत बैठकमा केसीले एनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्ने गरेको जानकारी दिए । नेपालमा एनोफेलिज जातको विभिन्न चार वटा प्रजातिको टोकाइका कारण औलो रोगको संक्रमण देखिएको केसीको भनाइ छ ।
सो कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ का किट नियन्त्रक चन्द्रेश्वरप्रसाद यादवले नेपाल भारतको खुला सिमानाका कारण आयातित औलोका बिरामी बढी हुने गरेको बताए । स्थानीय औलो नियन्त्रण गरेपछि आयातीत औलो नियन्त्रण गर्न समेत सहज हुने यादबको भनाइ छ ।
सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसिया, जनस्वास्थ्य अधिकृत अनुप अधिकारी, विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुले औलो निवारणका लागि आ आफ्नो ठाउंँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
तपाइँको प्रतिक्रिया