बिरगंज, जेष्ठ २५ – पर्सामा शनिबार साँझ बर्षासँगै आएको हावाहुरीले दर्जनौं घरमा क्षति पुगेको छ भने केहि मानिस घाइते भएका छन् ।पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले क्षति पु¥याएको र विवरण संकलन भइरहेको बताए ‘हावाहुरीले मानवीय क्षति भएको खबर त छैन तर घाइते भएको जानकारी पाएको छु’ उनले भने, ‘घरहरुमा सामान्य क्षति भएको हो, त्यसबारे यकिन विवरण संकलन भइरहेको छ ।’
हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं. १८ भवानीपुर बस्ने समसुद्धिन हवारीको छोरी ४ बर्षिया सवना खातुन, वीरगञ्ज–२२ बस्ने ४७ बर्षिया मैनुदेवी लगायत घाइते भएका हुन् । दुई तले घरको छतमा खेलिरहेकी सवनालाई हावाहुरीले उडाएर तल खसालेको थियो । उनको हात भाँचिएको परिवारका सदस्यले बताएका छन् । त्यसैगरि हावाहुरीले गाउँका दर्जनौं घरमा सामान्य क्षति पुर्ययाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ ।
हावाहुरीले वीरगञ्ज–२३ सवैठवामा एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । हावाहुरीले स्थानिय फुलमहम्द मियाँ, नजिर मियाँ, सतनारायण राम, कुर्वान मियाँ लगायतको घरमा क्षति पुगेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले बताए । उनकाअनुसार हावाहुरीले भकारीको छानो, गोठ, पक्की घर समेत भत्केको छ ।पटेर्वासुगौली गाउँपालिकामा एउटा स्कुलको छानो हावाहुरीले उडाएको प्रहरीले जनाएको छ ।
यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ३ मा क्षति पुगेको छ । हावाहुरीले गर्दा वडा नम्बर ३ का दिपेन्द्र प्रसाद यादवको कुखुरा फर्म, ईसाहाक मियाँ, गुलिराम, विजय राम, भरत राम, जिउत साह लगायतको घरमा क्षति पुगेको छ ।