बारा, जेष्ठ २४ – बारामा दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छिन् ।बारा महागढीमाई नगरपालिका १ की ४० बर्षिय कलावतीदेवी गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार गिरीले सोही ठाउँकी बालिकालाई बिहीबार झन्डै २ बजे उठाएर योनीमा कपडा घुसाएर मार्न खोजेकी थिइन्।उनका अनुसार पहिला बालिकालाई खेलिरहेको अवस्थामा घरअगाडिबाट गिरीले उठाएर एकान्त ठाउँमा लगेकी थिइन्।
‘एकान्त गल्लीमा पुर्याएर प्लास्टिकको डोरीले दुबै हात बाँधिन् र मुख तथा योनीमा कपडाको टुक्रा कोचेर घरअगाडि फालिदिइन्,’ भट्टराईले भने।बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनायो।पीडक महिला बालिकाकी नातामा पर्छिन्। पारिवारिक ‘रिसिइबी’ साँध्न उनले बालिकालाई मार्न खोजेको अनुसन्धानमा खुलेको छ।
‘बालिकालाई बलात्कार गरेजस्तो देखियोस् र कोही अरु नै पक्राउ परुन् भन्ने उद्देश्य देखिन्छ,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अनुसन्धान गर्दै जाँदा गिरीको यस्तो अपराध खुल्यो।’आइतबार बिहान पक्राउ गरी गिरीलाई जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई हिरासत राखिएको प्रहरीले जनाएको छ