पाँचौँ चितवन च्याम्पियनसिप शुरु, उद्घाटन खेलमा गैंडाकोट बिजयी

चितवन, जेष्ठ २४ – पाँचौँ चितवन च्याम्पियनसिप कप २०७६ शुक्रबारबाट शुरु भएको छ । एभरेष्ट क्लब चितवनको आयोजनामा शुरु भएको चितवन च्याम्पियनसिप कपको उद्घाटन खेलमा साविक बिजेता फोर ब्रदर्श गैंडाकोटले जित हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएफसी) लाई ३-२ ले पराजित गर्दै गैंडाकोटले बिजयी शुरुवात गरेको हो ।
जुनियर प्रहरी शिक्षालय भरतपुरको मैदानमा भएको खेलमा गैंडाकोटलाई जिताउन सजिन थापाले २ तथा राजिव लोप्चनले १ गोल गरे । भरतपुरका तर्फबाट निरज बस्नेत र सुनिल श्रेष्ठले गोल गरे । यो जित सँगै गैंडाकोट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उता भरतपुर भने प्रतियोगिताबाट बाहिएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका थिए । उनले खेलका मुख्य रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रको बिकास नभए सम्म देशमा आर्थिक समृद्दी सम्भव नभएको बताए । उनले खेल क्षेत्रले देशलाई विश्वभर चिनाउन सफल हुने भन्दै देश बिकासका लागि खेल क्षेत्रको बिकास महत्वपूर्ण हुने धारणा राखे ।
उनले सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेकोले अब खेलाडीहरुलाई खेल खेलेरै जीवनयापन गर्ने स्थिती सृजना हुनेमा ढुक्क हुन आग्रह गरे । चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको प्रसँग जोड्दै मन्त्री विश्वकर्माले सात वटै प्रदेशमा सरकारले सुबिधा सम्पन्न रंगशाला गर्ने पनि बताए ।
असार ७ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ३ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक एभरेष्ट क्लब चितवन अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । उपबिजेताले १ लाख ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने देवकोटाले जनाए । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले ६० हजार प्राप्त गर्नेछ ।
बिभिन्न ५ बिधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा चितवनका बिभिन्न ८ तथा चितवन बाहिरका ८ गरी कुल १६ टोलीको सहभागीता रहेको छ । हनामि ईन्टरनेसनल एजुकेशन प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको छ ।प्रतियोगिता अन्तर्गत शनिबार पनि एक खेल हुनेछ । शनिबार हुने खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) र राप्ती रिभर्स फुटबल भिड्ने आयोजकले जनाएको छ ।पहिलो दिन शुक्रबार खेल हेर्नका लागि निशुल्क गरिए पनि शनिबारबाट भने ५० रुपैया टिकट शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया