चितवन, जेष्ठ २३ – कैलाश युथ क्लव भरतपुर–११ ले आफुहरुलाई जानकारी नै नगराई शुक्रबारबाट शुरु हुने पाँचौ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट हटाईएको प्रती ध्यानाकर्षण भएको जनाएको छ । क्लबले विज्ञप्ती जारी गर्दै बिना जानकारी आफुहरुलाई प्रतियोगिताबाट हटाएको जनाएको छ ।
क्लबका अध्यक्ष किरण मरहट्ठाले प्रतियोगिताको आयोजक एभरेष्ट क्लबले आफुलाई प्रतियोगितामा सहभागी गराउने सहमती गरेको तर खेल तालिका सार्वजनिक गर्दा बिना जानकारी हटाईएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले एभरेष्ट क्लबका कप्तान गोपाल गुरुङले मौखिक रुपमा कैलाश युथ क्लबलाई प्रतियोगिता सहभागीता जनाउन जानकारी गराएको र आफुहरु पनि सहभागीताको लागि तयार भएको अवस्था यस्तो गर्दा क्लबलाई नैतीक र आर्थिक रुपमा क्षेती पुगेको बताएका छन् ।
प्रतियोगितामा सहभागीता जनाउनका लागि २ बिदेशी र ६ राष्ट्रिय स्तरका खेलाडी समेत अनुबन्ध गराईसकेको मरहट्ठाले ए टु जेड समाचारलाई भने । उनले आयोजकले आफ्नो क्लबको इज्जत प्रतिष्ठा माथि नै आच आउने काम गरेको आरोप समेत लगाएका छन् ।
उता आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले कैलाश युथ क्लबलाई प्रतियोगितामा सहभागीता जनाउने बारे कुनै सहमती नभएको बताएका छन् । उनले क्लबमा कहिले पनि कैलाशलाई प्रतियोगितामा सहभागीता गराउने बारे कुरा नै नभएको ए टु जेड समाचारलाई बताए ।