काठमाडौं ,जेठ २३ –केही दिनअघि धादिङको गजुरीमा भएको बस दुर्घटनामा घाइते भएका २२ जनालाई महाबौद्धस्थित ट्रमा सेन्टरमा ल्याइयो। तीनजनालाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने भयो। तर अस्पतालले एकजनालाई मात्र आईसीयूमा राखेर दुईजनालाई अन्यत्रै पठायो।
गोरखापत्र दैनिकमा समाचार छ, यसैगरी सिन्धुपाल्चोकका उमेश गिरीलाई काठमाडौंको वीर अस्पतालको आईसीयू खाली नभएको भन्दै गेटबाटै फर्काइयो। छातीको संक्रमण भएर उनलाई वीर अस्पताल ल्याइएको थियो। यी त केही उदाहरण हुन्। गम्भीर बिरामीलाई सरकारी अस्पतालमा आईसीयू पाउनै कठिन छ। ट्रमा सेन्टरमा १० वटा आईसीयूमध्ये पाँचवटा मात्र सञ्चालनमा छन्। अन्य आईसीयू उपकरण बिग्रिएर बसेका छन्।
ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार यादव व्यवस्थित नभएकाले अरु आईसीयूबाट सेवा दिन नसकेको बताउँछन्। ‘दुर्घटना भएर उपचारका लागि आउने सेन्टर भएकाले हामीकहाँ तत्काल ५० शय्याको आईसीयू आवश्यक पर्छ’, उनले भने, ‘अहिले हामीसँग भएका १० शय्यामध्ये पनि आधामात्रै सञ्चालनमा छन्।’ शल्क्रियापछि भेन्टिलेटरसहितको थप आईसीयूको व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयमा माग गरिएको उनले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी अस्पतालमा आईसीयू कम रहेको भन्दै यो वर्ष छुट्टै बजेटको व्यवस्था गर्न माग गरिएको जानकारी दिए।