जेठ २२, नेपालगञ्ज– राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बाँकेका आधा दर्जन कार्यक्रममा सहभागी भएकी छन्। बिहान साढे सात बजेदेखि अपरान्ह पाँच बजेसम्म नै राष्ट्रपति भण्डारी व्यस्त भइन्।
बिहान बागेश्वरी मन्दिरको दर्शन गरेर जीगाउँस्थित प्रभात माविको स्वर्ण जयन्तीमा सहभागी भएकी राष्ट्रपति भण्डारीले दिउँसो वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक गोष्ठी र अपरान्ह डिभिजन वन कार्यालयमा पुगेर आँपको बिरुवा रोपिन्। राष्ट्रपति भण्डारीले साँझ केही उद्योगी व्यापारी, राजनीतिज्ञलाई समेत भेट्ने कार्यक्रम रहेको छ।


राष्ट्रपति भण्डारीले वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै चुरेको अनियन्त्रित दोहन रोक्नुपर्ने बताइन्। उनले भनिन्, ‘प्राकृतिक स्रोत साधनको अनियन्त्रित दोहन रोक्नु पर्छ। क्षणिक लाभका लागि प्राकृतिक दोहन गर्नु दुःखको कुरा हो।’
राष्ट्रपति भण्डारीले नेपालमा हरित ग्याँस उत्सर्जन न्यून रहेपनि त्यसको प्रभावबाट नेपाल जोखिममा परेको बताउँदै ‘नखाएको विष लाग्छ भने झै नगरेको अपराधको सजाय भोग्नु परेको’ बताइन्। उनले पोल्याण्डमा भएको सम्मेलनमा यस विषयमा आफूले कुरा उठाएको जानकारी दिइन्।
नेपालका हिमश्रृंखलाहरु उच्च जोखिममा छन्। पानीको स्रोत सुक्दै गएकाले पानी लिन घण्टौ टाढा जानु पर्ने अवस्था आएको राष्ट्रपति भण्डारीले बताइन्। उनले स्वच्छ वायु कायम गर्नु सबैको दायित्व भएको बताइन्। उनले नेपालमा राम्रोे कार्यनीति बनाएपनि कार्यान्वयनमा ध्यान दिन दिनुपर्छ भन्ने महसुस भएको बताइन्।
वन तथा वातावरण मन्त्रालयले पहिलो पटक काठमाडौं बाहिर वातावरण दिवस मनाएको हो। वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले ५, कर्णाली र सुदूरपश्चिम प्रदेश तुलनात्मक रुपमा जोखिममा रहेकाले नेपालगञ्जमा कार्यक्रम गरेर सजग गराउने प्रयास गरेको बताए। उनले वातावरण संरक्षणका विषयमा दुई दिनसम्म धेरै बहस भएपछि नेपालगञ्ज घोषणापत्र जारी हुने र त्यस अनुरुप कार्यक्रमहरु अघि बढ्ने जानकारी दिए।
५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले वातावरण परिवर्तनले मानवीय जीवनलाई कठिन बनाउँदै लगेको बताए। वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वलीले विकास र वातावरणका बीचमा सन्तुलन कायम हुन नसकेको बताए। उनले विकास र वातावरणको तालमेल मिलाउने बहस भइरहेको जानकारी दिए।
नेपालगञ्जमा भएको गोष्ठीमा ११ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसका आधारमा आगामी रणनीति बनाउने सचिव वलीले बताए।
यसैबीच, राष्ट्रपतिका अलावा जिल्लामा एक दर्जन भीआइपी आएपछि सुरक्षा अधिकारीलाई स्कटिङका लागि भ्याई–नभ्याई भएको छ।