जेष्ठ २० – दक्षिण अफ्रिकालाई हराउदै बंगलादेशले विश्वकप क्रिकेटमा सुखद सुरुवात गरेको छ । गए राती लण्डनमा भएको खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले विश्वकपमा सुखद सुरुवात गरेको हो ।
बंगलादेशले दिएको ३३१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिणले अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मात्रै बनाउन सक्यो । कप्तान फाफ डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि ६२ रनको अर्धशतकिय पारी खेले । उनले ५३ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।
ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५-४५ रन बनाए । रसिइ भान डेर डुसेनले ४१ तथा डेभिड मिलर ३८ रन बनाएर पेभिलियन फर्किए । बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए भने मोहम्मद सइफुदिनले दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा मात्र ६ विकेट गुमाउदै ३३० रनको बिशाल योगफल तयार पारेको थियो ।बंगलादेशलाई बिशाल योगफल बनाउनका लागि मुश्फिकुर रहिमले सर्वाधिक ७८ रनको महत्वपूर्ण पारी खेले । उनले ८० बलमा ८ चौका प्रहार गरे । त्यस्तै, शकिब अल हसनले ७५ रन बनाए । ८४ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे भने ओपनर सौम्या सरकारले ४२ रन तथा मोसादक हुसेनले २६ रन बनाए ।अफ्रिकाका इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २-२ विकेट लिए ।एजेन्सी