ठोरीबाट लागु औषध ल्याउने क्रममा माडीमा एक जना पक्राउ

एटुजेड समाचार

माडी, जेष्ठ १९ – ठोरी–माडी–भरतपुर चल्ने यात्रुवाहक बसमा लागू औषध लुकाएर लैजाने कार्यमा संलग्न रहेको थप एक जनालाई प्रहरीले माडीबाट पक्राउ गरेको छ । सीमावर्ती भिखना ठोरी बजारबाट खरीद गरी यात्रुवाहक बसको डिक्कीमा राखी अर्को गाडी चढेर जाँदै गरेको अवस्थामा माडी बसन्तपुर घर भएका ३३ वर्षिय एक युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।

पक्राउ परेका युवालाई इलाका प्रहरी कार्यालय ठोरीमा ल्याई अनुसन्धान भइरहेको उनले बताए । बरामद गरिएको घरायासी सामाग्री बेच्ने भिखना ठोरी बजारका पसलेले दिएको हुलियाको आधारमा उनलाई इलाका प्रहरी कार्यलय माडीको सहयोगमा पक्राउ गर्न सफल भएको उनले बताए । पसलेको हुलियाको आधारमा लागू औषध कारोवारीमा यात्रुवाहक बसको मालिक र ड्राइभर संलग्न नहरेको पाइएपछि दुवै जनालाई छोडिएको उनले बताए । सहचालक भने संलग्न रहेको हुन सक्ने भएकोले उनी माथि थप अनुसन्धान भइरहेको उनले बताए ।

ठोरी भन्सारबाट चितवनको भरतपुरका लागि छुटेको ना ४ ख ५४८६ नम्वरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यलय ठोरीले १ सय २० पत्ता अर्थात ९ सय ६० थान अवैद्य लागू औषध पाइभोन स्पास शुक्रवार बरामद गरेको थियो । चिनी, स्याम्पु, सावुन लगायतका घरायासी सामाग्री रहेको प्लास्टीकको झोला रहेको चारओटा बोराको पोका खोलेर हेर्दा उक्त परिमाणको लागू औषध फेला परेको थियो । औषध भएको पोका वेवारिसे पाइएपछि यात्रुवाहक बससहित बसका मालिका, चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु