वार्नर चम्किदा विश्वकपमा अष्ट्रेलियाको सानदार सुरुवात
जेष्ठ १९ – ओपनर डेविड वार्नरले चम्किए पछी अष्ट्रेलियाले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको छ । विश्वकप अन्तर्गत गए राती सम्पन्न खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो ।
ब्रिस्टलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।अष्ट्रेलियालाई जिताउन ओपनर डेविड वार्नरले सर्वाधिक ८९ रनको महत्वपूर्ण पारी खेले । उनले १ सय १४ बलमा ८ चौका प्रहार गर्दै अविजित ८९ रन बनाए । गत वर्ष बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धपछि आधिकारीक पहिलो अन्तर्राष्ट्रिय खेलमै वार्नरले उत्कृष्ट प्रर्दशन गरेका हुन् ।
कप्तान आरोन फिन्चले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ बनाए । यस्तै उस्मान खवाजा १५ रन बनाएर एलवी डब्लू आउट भए भने स्टिभ स्मिथ १८ रन बनाएर पेभिलियन फर्किए । अफगानिस्तानका लागि मुजिव उर रहमानले २ विकेट लिए भने राशिद खानले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ३८.२ ओभरमा २ सय ७ रनमा समेटियो । उसका लागि नजीवुल्लाह जादरानले ५१ रन अर्धशतकिय पारी खेले । उनले ४९ बलमा २ छक्का र ७ चौका प्रहार गरे ।रामत शाह ६० बलमा ४ चौका सहित ४३ रन बनाएर आउट भए भने गुलवदीन नाइबले ३१ रन बनाए । यस्तै राशिद खानले २७ रन बनाए । उनले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३-३ विकेट लिए भने मार्कस स्टोइनिसले २ तथा मिचेल स्टार्कले १ विकेट हात पारे ।एजेन्सी
तपाइँको प्रतिक्रिया