काठमाडौं, जेष्ठ १६ – स्वतन्त्र राष्ट्रिय अभियान नेपालले बिपी राजमार्गमा बृहत सरसफाई कार्यक्रम बिहिबारदेखि शुरु गरेको छ । धुलिखेलदेखि बर्दिबाससम्मको १ सय ५८ दशमलव ९ किमी सडक क्षेत्रमा एक साता सफाई कार्यक्रम शुरु गरिएको अभियानले जनाएको छ । बृहत सफाई कार्यक्रमको बिहिबार धुलिखेलबाट आयोजक अभियानका सबै सदस्यहरुले फोहोर उठाएर सामुहिक रुपमा उद्घाटन गरेका थिए ।
अभियानमा रहेको स्वतन्त्र राष्ट्रिय खेलाडी महासंघ अन्तर्गत हिमालयन आर्टस एकेडेमीका खेलाडीहरु आबद्ध छन् । नेपालमा राजमार्गको फोहोर संकलन र त्यसको ब्यबस्थापन गर्न लागिएको संभवत यो पहिलो भएको अभियानले दावी गरेको छ । अभियानमा खटिएका स्वंयसेवकले दैनिक ३० किमी सडक र वरपरका फोहोर संकलन गर्नेछन् । संकलित फोहोरलाई कुनै एक स्थानमा थुपारेर राख्ने र एक सातापछि सबै फोहोर गाडीमा उठाएर निश्चित स्थानमा स्थायी ब्यबस्थापन गर्ने खेलाडी महासंघका अध्यक्ष तथा बिपी राजमार्ग सरसफाई कार्यक्रमका संयोजक सेफर्ड लिम्बुले जानकारी दिए ।
‘हामीले स्थानीय बिच समन्वय गरेर फोहोर उठाउँछौं,’ उनले भने,‘यो कार्यक्रममा फोहोर संकलन र स्थानीय बिच कार्यक्रम पनि संचालन हुनेछ ।’ उनको नेतृत्वमा पहिलो पटक बिपी राजमार्गको सफाई अभियान थालिएको हो । सफाई कार्यक्रम अन्तर्गत खटिने स्वंयसेवकहरुले पालमा सुत्ने र आँफै खाना बनाएर खाने गर्नेछन् । यसलाई खर्चिलो र भड्किलो नबनाउन होटलमा नभई हामी स्वंयले खाने बस्ने ब्यबस्था गरेर एक साताको कार्यक्रम थालनी गरिएको लिम्बुले जानकारी दिए ।
सड्ने र नसड्ने फोहोर छुट्याएर त्यसको आधुनिक तरिकाले ब्यबस्थापन गरिने खेलाडी महासंघले जनाएको छ । सफाई कार्यक्रममा १६ जना अभियानका जिम्मेवार सदस्य तथा स्वंयसेवक खटिएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय संयोजक स्वागत नेपालले एकै पटक यति लामो दुरीको सफाई अभियान यो पहिलो भएको जानकारी दिंदै यसले बृहत चेतनामुलक जागरण ल्याउने बताए । यो सफाई कार्यक्रम मितब्ययी र बढि प्रभावकारी हुने उनले बिश्वास ब्यक्त गरे । हामीले सरकार र नेतालाई आलोचना मात्र गर्देनौं, देशका लागि सकेको केहि गरेर देखाउँछौं, उनले भने,‘राज्य कर्तब्यबाट च्युत भयो भने नागरिक आँफै जाग्नुपर्ने यो एउटा गतिलो उदाहरण हो ।’ देशभरका नागरिकलाई हाम्रो समाज निर्माण गर्न गोलबद्ध बनाउन अभियानले महत्वपुर्ण जागरण कार्यक्रम ल्याउने उनले जानकारी गराए ।
अभियानका प्रबक्ता विनोद त्रिपाठीले यो कार्यक्रमले जनतालाई जागरुक बनाउने र सरकारलाई कर्तब्यबोध गराउने बिश्वास ब्यक्त गरे । स्वतन्त्र राष्ट्रिय अभियानका सचिब राजु मगरातीले समाजलाई सुन्दर र सफा बनाउन युवाहरुको सक्रियता आबस्यक रहेको औंल्याए । अभियानले शुरु गरेको बृहत सरसफाई कार्यत्रममा स्थानीयहरुको ठुलो उपस्थिति रहेको थियो । सफाई कार्यक्रममा स्थानीयहरुले उत्साहपुर्वक अभियानका स्वंयसेवकलाई साथ दिएका थिए । एक सातासम्म हुने बृहत सफाई अभियान काभ्रेको धुलिखेलबाट शुरु भएर बर्दिबास बजारमा गएर सकिने आयोजकले जनाएको छ ।