महिनावारी हुँदा हुने मानसीक तथा शारिरिक तनाव ब्यवस्थापनमा पुरुषको भूमिका महत्वपुर्ण

चितवन, जेष्ठ १६ – महिलाहरु महिनावारी भएको समयमा हुने मानसीक तथा शारिरिक तनाव ब्यवस्थापनको लागी परिवारका पुरुषहरु महत्वपुर्ण हुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सञ्चारिका समुह चितवनको आयोजनामा भएको महिनावरी र सो समयमा अपनाउनु पर्ने सजगता बिषयक अन्तरक्रिृया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । अन्तराष्ट्रिय महिनावारी सजगता दिवसको सन्दर्भमा आयोजीत कार्यक्रममा बोल्दै उनिहरुले सबै भन्दा पहिले महिनावारी सम्बन्धी मानसीकता बदल्नु पर्ने बताउदै यसमा पुरुषहरुको महत्वपुर्ण भुमिका हुने बताएका हुन् ।
परिवारका पुरुषहरुले नै महिनावारी सम्बन्धि मानसिकता परिवर्तन गर्नसके अन्य सदस्यमा समेत स्वतह परिवर्तन हुने उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य तथा सञ्चारिका समुह चितवनकी निवर्तमान अध्यक्ष सिर्जना अर्यालले महिलाहरुको महिनावारी कहिल्यै अछुत नहुने बताईन् । उनले धर्ममा समेत देवी महिनावारी भएको समयमा पुजा गरिने बताउदै मानिसको सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताईन् ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी अर्यालले महिनावारी आमा बन्ने अवसर भएको भन्दै यसलाई सम्मान गर्न समेत सुझाव दिईन् । अन्तरक्रियामा स्वाथ्यकर्मी तथा कुमारी नर्सीङ कलेजकी प्रिन्सिपल सरस्वती तिमिल्सिनाले सहजीकरण गरेकी थिईन् । उनले महिलाहरुको महिनावारीको समयमा हुने समस्या, यसबाट बच्ने उपाए, सुरक्षित सेनेटरी प्याडको प्रयोग लगाएतका बारेमा सहजीकरण गरेकी थिईन् भने उपस्थित हुने महिलाहरुले बिभिन्न समस्याको बारेमा जानकारि गराएका थिए ।
यस्तै सञ्चारिका समुह चितवनकी अध्यक्ष अजिता अधिकारीले महिलाहरुमा रजस्वला सम्बन्धि सजगता गराउने उद्वेश्यले सो कार्यक्रमको आयोजना गरिएको बताईन् । अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, आशा अस्पताल भरतपुरकी सञ्चालक शारदा कुवर, क्रियाशील महिला पत्रकार(WWJ) चितवनका अध्यक्ष प्रमिता ढकाल , यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवन सह संयोजक तथा महिला शशक्तिकरण अभियानकी अध्यक्ष संगीता भट्टराई, अधिवक्ता कल्पना उप्रेती लगाएतले बोलेका थिए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागिता रहेको थियो । समुहकी उपाध्यक्ष गीता गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रम सचिव आशा खरेलले सञ्चालन गरेकी थिईन् ।
तपाइँको प्रतिक्रिया