चितवन, जेष्ठ १५ – गणतन्त्र स्थापनाको ११ औ बर्षगाँठको अवसरमा भरतपुर -९, शरदपुर स्थित सिर्जना स्कुलले “नेपाल र गणतन्त्र” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजनिती तथा शिक्षा क्षेत्रसङ्ग सम्बन्ध राख्ने बिशिष्ट पाहुनाहरु निम्त्याइएको उक्त कार्यक्रममा विद्यार्थीहरुले गणतन्त्र र यसको सान्दर्भिकतामा टेकेर आफ्नो प्रश्न राखेका थिए ।
कार्यक्रममा अतिथी तथा बक्ताका रुपमा राजनितिकर्मी तेजेन्द्र खड्का, शिक्षासेवी तथा राजनीतिक बिष्लेशक प्रेम रिमाल तथा भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यमलाल कडेल उपस्थित थिए । बिद्यार्थीहरुले उक्त अवसरमा गणतन्त्र के हो ? यसको आवस्यकता किन हुन गयो ? यो अन्य शासन पद्धतिभन्दा कसरी फरक छ ? स्थापनाको ११ बर्षमा गणतन्त्रले हामिलाइ के दियो ? विद्यार्थीले राजनीति गर्नु हुन्छ या हुदैन जस्ता प्रश्न गरेका थिए ।
करिब ३ घन्टा चलेको उक्त अन्तरक्रियामा कक्षा सातदेखि दससम्मका विद्यार्थीहरुले चासोसाथ प्रश्न सोधिरहदा उपस्थित पाहुना हरु प्रफुल्लित हुँदै हरेक प्रश्नको उत्तर दिन तल्लिन थिए । कार्यक्रममा बक्ताको रुपमा आफ्नो भनाइ राख्दै राजनीतिकर्मी तेजेन्द्र खड्काले गणतन्त्र ठूलो त्याग र तपस्याबाट प्राप्त भएको स्मरण गर्दै यसबाट पछाडी फर्कन नसकिने बताए । बिष्लेशक प्रेम रिमालले गणतन्त्र बालकको रुपमा प्राप्त भएको तर यसलाइ प्राण दिएर बचाउने जिम्मा अहिलेको बिद्यार्थी तथा युवापुस्ताको रहेको बताए ।
सोही अबसरमा वडा अध्यक्ष यमलाल कडेलले गणतन्त्रलाइ संस्थागत गर्न आफ्नो ठाउबाट प्रयत्न गर्ने बताए। साथै उहाले सिर्जना स्कुलले अन्य विद्यालयको तुलनामा गहन रुपमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए । समापनको अबसरमा विद्यालयका पि.टि.ए.का अध्यक्ष लिलाबल्लब भुसालले विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुलाइ प्रयोगात्मक ज्ञान तथा उर्जा मिल्ने भन्दै विद्यालयको सराहना गरे ।