बलात्कारका अभियुक्तलाई भारतमा घुसेर पक्राउ गर्ने टोली सम्मानित

माडी, जेष्ठ १४ – माडीको छरछरे बलात्कार प्रकरणका अभियुक्तलाई भारतबाट पक्राउ गरी ल्याउन सफल भएको नेपाल प्रहरी सम्मिलित समूहलाई सम्मान गरिएको छ । बलात्कारका अभियुक्त शमशेर विश्वकर्मालाई भारतको हरियाणाबाट पक्राउ गरी नेपाल ल्याउने योजनाबद्ध साहसिक कार्य गर्ने ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव नीरिक्षक उमेश कोइराला, प्रहरी हवल्दार रामलाल श्रेष्ठ, माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेल र युवा अगुवा हिमकान्त (हरि) भुसाललाई माडी नगरपालिका महिला समितिले सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले सकेसम्म अपराध हुनै नदिने र भइहालेमा अपराधी खोज्न सबैले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । माडी नगरपालिका महिला समितिकी संयोजक कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न सो सम्मान कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधीहरुसंगै महिला अगुवाहरुको सहभागिता रहेको थियो ।
अभियुक्त बि.क. माडीको छरछरेमा १५ बर्षीया दलित समुदायकी बालिका बलात्कार गरी फरार भएका थिए । बि.क.लाई यतिबेला जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको र उनले अपराध कबुल गरिसकेको प्रहरीको भनाई छ ।
तपाइँको प्रतिक्रिया