क्यान्सर अस्पताल ः बिरामी बढे, सेवा सुविधा बढेन
सूर्यप्रसाद अधिकारी, जेठ १४, चितवन । देशका आधाभन्दा बढी क्यान्सरका विरामी उपचार गर्दै आएको भरतपुर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको छ । विरामीको संख्यामा बृद्धि भएपनि सोही अनुपातमा पूर्वाधार एवं जनशक्ति नहुंँदा बिरामीले सहज उपचार पाउन सकेका छैनन । जसका कारण सामान्य चेकजांँच गर्न आउंँदापनि घण्टौं लाम लाग्नुपर्ने बाध्यता छ भने , जटिल उपचारको लागि महिनौं कुर्नुपर्ने बाध्यता रहेको छ ।
कल्याणपुर नगरपालिका वडा नम्बर ५,सिराहाका अनन्त यादव उपचारको लागि धेरै समय कुर्नुपरेको बताउंँछन, करीब ४ महिनादेखि रक्त क्यान्सर भएर बच्चाको उपचार गर्दै आएका उनले उपचारभन्दा पनि सास्ती बढी पाएको गुनासो गरे । ‘माघ महिनादेखि उपचार गर्दैछु, कहिले ल्यावमा ढिला हुन्छ, कहिले किम्बु चढाउन ढिला गर्छ, कहिंँपनि टाइममा पालौनै पाउदैन’ उनले भने । प्रत्येक विभागमा बिरामीको भीड भएका कारण आफूले पालो पाउन पांँचदिनदेखि यही बसेको उनले बताए । उनीजस्तै भारत जयनगरबाट आएका नीतिश कुमारको गुनासो पनि उस्तै छ ।
‘ भाईको लागि केमो चढाउनको लागि केही दिन देखि यहांँ आएको, तर पालो पाएको छैन’ उनले भने, कहिले डाक्टर खाजा खान गएको भन्छ , कहिले केहीसमय कुनुपर्छ भन्छ’। आफूले सधै भीड र चाप बढ्दा आफ्नो बिरामीको व्यथा बढ्दै गएको उनको बुझाई छ । ‘६ पटक भयो केमो चढाएको, सञ्चो हुन्छ त भन्छ ,बच्चा सहनै नसक्ने गरी रुन्छ’ उनले भने ।
आफ्नो भाइको उपचार गराउन बुबाको साथ आएका उनी समयमै पालो नपाउंँदा निराश भएको बताए ।
यिनीहरुजस्तै मृगौलामा छोरीको क्यान्सर भएर आएकी सल्यानकी शुशीला बुढा पनि आफूले सहजरुपमा उपचार नपाउंँदा दिक्क मान्छिन , । ‘४ महिना भयो यहांँ धाएको उपचारत ठीकै लागेको छ , तर उपचार गराउनै मुश्किल छ ।’ प्रत्येक पटक रिपोर्ट लिन पालो, रेडियोथेरापीमा पालो, किम्बोमा पालो ।‘ उनको दुखेसो छ । डाक्टरले आज केमो चढाउने भनेर बोलाएपनि भोलि आउनु भनेर फर्काएको उनले बताइन ।
अस्पतालका निर्देशक विजयचन्द्र आचार्य अस्पतालमा पूर्वाधार, उपकरण र पर्याप्त जनशक्ति नहुंँदा बिरामीले कुर्नुपरेको बताउंँछन । ‘बिरामीको चाप दैनिक बढ्दो छ , तर हामीसंँग न पर्याप्त उपकरण छ , न जनशक्तिनै’ उनले भने ।
उनका अनुसार यस अस्पतालमा राम्रो उपचार हुने गरेकोले दैनिक बिरामीहरुको चाप बढेको हो । ‘बिरामीको तुलनामा हामीसंँग साधन स्रोतनै कम छ’ उनले भने । जसका कारण बिरामीले कुर्नुपरेको उनंँको भनाई छ । बिशेष गरी अस्पतालमा रेडियोथेरापी गर्ने बिरामीको चाप बढी हुने गरेको छ । ‘३ वटा मेशीनले जम्मा १५० जनाको थेरापी गर्छ, तर बिरामी अत्याधिक छन’ उनले भने । पर्याप्त जनशत्ति, उपकरण भए बिरामीले धेरै समय कुर्नुनपर्ने उनले बताए । उनका अनुसार अघिल्ला बर्षहरुहरुमा दैनिक ३ देखि ४सयको हाराहारीमा बिरामी आउने गरेपनि हाल ६ सय देखि ७०० सम्म बिरामी आउने गरेका छन । अस्पतालको तथ्यांक अनुसार ओपीडीमा मात्रै २७ हजार ९ सय ४७ जना विरामी आएका थिए भने, २०१८ मा २९ हजार ९ सय ६१ जना आएका थिए भने २०१९ को हालसम्म १२ हजार ६ सय २४ जनाले ओपीडी सेवा लिएका छन ।
तपाइँको प्रतिक्रिया