पारसको टोलीको पहिलो जित

काठमाडौं, जेष्ठ १३ – पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा प्रदेश ५ ले दिएको १२३ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २१.५ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश ३ लाई जिताउन रित गौतम र रविन जोशीले महत्वपूर्ण पारी खेले । रितले ३७ रन बनाए भने रविनले ३५ रन बनाए । त्यस्तै इशान पाण्डेले नटआउट २१ रनमा बनाउदा आदिल खान १२ रनमा नटआउट रहे । प्रदेश ५ का अनिल खरेल र सिद्धान्त शाहीले समान २–२ विकेट हात पारे ।
त्यस अघी मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश ५ ४२ ओभरमा १२२ रनमा अलआउट भयो । उसका शुभेन्दु पाण्डे २० र सुरज दरालले १८ रन बनाएर पेभिलियन फर्किए । यस्तै सन्दीप सुनारले १४ र सौरभ खनालले १३ रन बनाए ।
प्रदेश ३ का कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा तीन ओभर मेडन राखेर २४ रन खर्चिदै ४ महत्वपूर्ण विकेट लिए । यस्तै सूर्य तामाङले तीन र नन्दन यादवले दुई विकेट हात पारे ।प्रदेश ३ यसघी पहिलो खेलमा शशस्त्र प्रहरीको एपिएफ सँग पराजित भएको थियो ।
तपाइँको प्रतिक्रिया