प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा चितवनस्थित नेपाल पुलिस स्कुलको निरीक्षण

चितवन, जेष्ठ १२ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३ नम्बर प्रदेश अन्तर्गत चितवन शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको निरीक्षण भ्रमण आइतबार गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायसँग समन्वय र सहकार्य गरी जग्गा सहित पुरानो स्कुल नेपाल प्रहरीले संचालन गर्ने निर्णय गरेको बताउँदै स्कुलको थप विकास तथा भौतिक संरचना निर्माणको लागि प्रहरी प्रधान कार्यलयकोतर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए । साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप स्कुल स्थापना गरिएको चर्चा गर्दै स्कुलले छोटो समयमा नै उल्लेख प्रगति गर्दै अगाडि बढिरहेको समेत प्रहरी महानिरीक्षक खनालले बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहालले नेपाल पुलिस स्कुल संचालन तथा भौतिक संरचना निर्माणको लागि महानगरपालिकाको तर्फबाट सदैव साथ, सहयोग र समर्थन रहने बताए । स्कुलको स्थापना तथा संचालनबारे समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा स्कुलका प्राचार्य सुन्दर बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक केदार रिजाल, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, विद्यालय व्यवस्थापन समिति, स्थानीय संघसंस्थाका पदाधिकारी लागयत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया