भरतपुर फुटबल क्लबलाई सेन्ट्रल कलेजले प्रायोजन गर्ने

चितवन, जेष्ठ ११ – भरतपुर फुटबल क्लब( बिएफसी) भरतपुरलाई सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ सेन्टरले प्रायोजन गर्ने भएको छ । शनिबार क्लब र सेन्ट्रल कलेज बिच प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । शनिबार आयोजित एक कार्यक्रममा बिच क्लबका नव निर्वाचित अध्यक्ष ऋषी थापा, कप्तान धुर्व भुषाल र सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक यज्ञबिलास पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सेन्ट्रल कलेजले क्लबलाई १ बर्ष सम्म प्रायोजन गर्नेछ । उसले १ बर्षका लागि क्लबलाई ६ लाख रुपैया उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो सम्झौता पछी क्लबले अब सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबको नाममा प्रतियोगितामा सहभागीता जनाउनेछ ।यस्तै उसले क्लबका लागि आवश्यक पर्ने खेल सामाग्री र चितवन बाहिरको प्रतियोगितामा सहभागीता जनाउन जादा लाग्ने यातायात खर्च पनि उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्लबका अध्यक्ष ऋषी थापाले यो प्रायोजन पछी खेलाडीहरुलाई उत्साहित बनाउने विश्वास ब्यक्त गरेका छन् । उनले क्लबमा यस अघी जे जस्ता आर्थिक समस्या भए पनि अब भने त्यसको अन्त्य हुने बताएका छन् । उनले मोफसलका क्लबहरुमा व्यवसायिक हुने जरुरी रहेको बताउदै उनले यो सम्झौताले त्यसमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक यज्ञबिलास पौडेलले पहिले देखी नै क्लबलाई प्रायोजन गर्ने मनसाय भए पनि अहिले बल्ल त्यो सफल भएको बताएका छन् । भरतपुर फुटबल क्लब जस्तो चितवनको सर्वाधिक सफल क्लबलाई प्रायोजन गर्न पाउनु खुशीको कुरा भएको भन्दै उनले यो सम्झौता लामो समय सम्म रहने प्रतिबद्दता जनाएका छन् । यस्तै उनले हाललाई १ बर्षको लागि सम्झौता भए पनि आगामी दिनमा आवश्यकता हेरी सम्झौता लम्बाउन र सम्झौता रकम पनि बृदि गर्न सकिने बताएका छन् । उनले पहिले जे जस्ता आर्थिक अभाव भए पनि अब ढुक्क भएर मैदान उत्रिन खेलाडीहरुलाई अनुरोध गरेका छन् ।
क्लबका कप्तान धुर्व भुषालले यो प्रायोजनको सम्झौता पछी खेलाडीहरु उत्साहित हुने विश्वास गरेका छन् । उनले आर्थिक अभावका कारण धेरै पटक प्रतियोगितामा सहभागीता जनाउन तथा खेल्न कठिनाई भएको स्मरण गर्दै अब त्यसको अन्त्य हुने बताएका छन् । यसले थप उत्साहित बनाएकोले अब भरतपुर फुटबल क्लब झनै बलियो हुने विश्वास ब्यक्त गरेका छन् ।
क्लबका पुर्व खेलाडी तथा रेफ्री प्रकाश भुजेलले क्लब यस अघी आर्थिक अभावको कारण टुहुरो जस्तो भएको भन्दै उनले अब भने सेन्ट्रल कलेजलाई अभिभावकको रुपमा प्राप्त गरेको बताएका छन् । क्लबका पुर्व खेलाडी कृष्ण कार्कीले यसले क्लब तथा खेलाडीहरुलाई उत्साहित बनाएको बताउदै अब थप राम्रो नतिजा आउने विश्वास ब्यक्त गरेका छन् ।
यसै बिच भरतपुर फुटबल क्लबको अध्यक्षमा ऋषी थापा चयन भएका छन् । क्लबको शनिबार नै सम्पन्न अधिबेसनले थापालाई अध्यक्षमा चयन गरेको हो । क्लबको उपाध्यक्षमा धुर्व भुषाल, सचिवमा बिपिन पाण्डे, कोषाध्यक्षमा जीवन मल्ल चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण कार्की, प्रकाश भुजेल, बिपिन मल्ल, मनोज गुरुङ, राम कार्की र रोशन राना मगर चयन भएका छन् । क्लबको सल्लाहकारमा आश्विन घिमिरे, परमेश्वर खनाल र गंगा लामा तथा संरक्षकमा बिष्णु अधिकारी र लक्ष्मण गुरुङ रहेका छन् ।
तपाइँको प्रतिक्रिया