पाँचथरको सामूहिक हत्याकाण्डका विषयमा गम्भीर छानबिन गर्न कांग्रेसको माग

जेष्ठ ८,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ को आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको छानबिन गम्भीर रुपमा गर्न माग गरेको छ । कांग्रेसले बुधबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको गम्भीर छानबिन गर्न माग गरेको हो । कांग्रेसले घटनालाई रहस्यमयीभन्दै गहिरो र गम्भिर छानबिन गर्न सरकारसँग माग गरेको छ ।
यसैबीच कांग्रेसले सामुहिक हत्याकाण्डका बारेमा बुझ्न प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बे र पाँचथर कांग्रेसका सभापति नरेन्द्र केरुङ लिम्बूलाई घटनास्थल पठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले घटनालाई गम्भिरतापूर्वक लिँदै नेताहरुलाई घटनास्थल पठाएको बताएका छन् ।
उनका अनुसार तीनैजना नेताहरु बुधबार नै घटनास्थल पुगिसकेका छन् । नेतात्रयले आरुबोटे हत्याकाण्डले शोक विह्वल बनेको सिंगो गाउँप्रति पार्टीकातर्फबाट समवेदना प्रकट गरेका छन् ।
सोमबार राति आरुबोटेका धनराज शेर्मा लिम्बू र बमबहादुर फियाक लिम्बूको परिवारका नौ जनाको हत्या भएको थियो । धनराजको घरमा पाँचवटा र बमकुमारो घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
लघु उद्यम प्रशिक्षकसमेत रहेकी स्थानीय अर्चना गुरुङका अनुसार धनराज बमबहादुरका छोरीज्वाँई हुन् । प्रहरीका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम खुल्न नसकेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया