डोजर र रोलर राखेर सडक अवरुद्ध पार्ने निर्माण व्यवसायीको चेतावनी
जेष्ठ ७,काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली जारी गरेर निर्माण व्यवसायीको हक, हितविपरित कदम उठाउन खोजेको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् ।
निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघले मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीहरुले सरकार आफूहरुको विपक्षमा उभिन खोजेको बताएका छन् ।
महासंघले सार्वजनिक खरिद (छै्रठौं संशोधन) नियमावली ०७५ का केही प्रावधानले देशको समग्र अर्थतन्त्रलाई नै धरासयी बनाउने भन्दै व्यवसायीहरुको अनुकूलमा नियमावली संशोधन तथा खारेज गर्न माग गरेको छ ।
मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले एक हप्ताभित्रमा माग पूरा नभए देशव्यापी आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ ।
निर्माण व्यवसायीहरुको इजाजत–पत्र समेत सरकारलाई बुझाउने, विभिन्न कार्यालयबाट प्रकाशित भएका बोलपत्रहरु बहिष्कार गर्ने, हाल सञ्चालनमा रहेका विकास निर्माणका कार्यहरु ठप्प पारेर रोलर, डोजरजस्ता हेभी इक्यु्पमेन्ट सडकमा राखेर आन्दोलन गर्ने महासंघको निर्णय छ ।
आफ्नो माग पूरा गराउन दबाब दिनका लागि ०७६ जेठ ९ गते महासंघले संघीय सरकार अन्र्तगतको सम्बन्धित निकायमा, सात वटै प्रदेश महासंघले सम्बन्धित प्रदेश प्रमुखकोमा र ७७ जिल्ला संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा महासंघका कार्यबाहक अध्यक्ष निकोलस पाण्डेले अवैज्ञानिक ढङ्गले आएको अहिलेको नियमावलीले निर्माण व्यवसायीलाई मात्र नभएर अन्य धेरै पक्षलाई समेत प्रतिकूल प्रभाव पार्ने बताए ।
अहिलेको अवस्थालाई निर्माण व्यवसायीको कञ्चटमा बन्दुक राखिएको स्थितिसँग तुलना गर्दै पाण्डेले व्यवसायीका माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार रमेश शर्माले स्वदेशी व्यवसायीहरुलाई टेन्डर प्रक्रियामा भाग लिनै नसक्ने प्रावधान राखी सरकारले विदेशी व्यवसायीलाई पोस्न खाजेको संकेत गरे ।
महासंघका सल्लाहकार जयराम लामिछानले नियमावलीका कारण सबै क्षेत्रमा ठूलो संकट उत्पन्न हुने बताए । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया