नारायणीलाई आधार बनाएर एकीकृत विकास परियोजना लागु गर्न सुझाव

सूर्यप्रसाद अधिकारी, जेष्ठ ७, चितवन ।नारायणगढ मुग्लिन सडक अन्र्तगत रहेको दासढुंगा देखि गाँजीपुर क्षेत्रसम्मको नारायणी नदीलाई आधार बनाएर एकीकृत विकास परियोजना लागु गर्र्न यहांँका जनप्रतिनिधि तथा व्यवसायीहरुले सुझाव दिएका छन ।
जलगतिविधिको प्रचुर संभावना भएको नारायणी नदीलाई पर्यटन तथा अन्य व्यवसायिक गतिविधिसंँग जोडेर विकास गर्नुपर्ने भन्दै उनीहरुले सुझाव दिएका हुन । कार्यक्रममा सहभागीहरुले नारायणी नदीको प्रचुर संभावनालाई सदुपयोग गर्नुपर्ने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे ।
प्रदेश नीति तथा योजना आयोग प्रदेश नम्बर ३ र मदनभण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा आज भरतपुरमा आयोजित ‘दासढुंगा नारायणी एकीकृत विकास परियोजना‘ अन्र्तगत तयार पारिएको गुरुयोजनामाथिको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा गुरुयोजनाको बिषयमा प्रस्तुति दिदै परियोजनाका योजना विज्ञ बाबुराम भट्टराइले मदन भण्डारीको दुर्घटना स्थल देखि उनको शव भेटिएको स्थल गांँजीपुर सम्मको क्षेत्रलाई पर्यटन तथा आर्थिक विकासको लागि गुरुयोजना अगाडी सारिएको बताए । सोही अनुरुप जलगतिविधि , पर्यटन गतिविधि तथा जैविकविविधतालाई चिनाउन एकीकृत परियोजनाको खाका तयार पारेको उनले बताए । उनका अनुसार दासढुंगा वरपर रहेको खाली जग्गालाई मदन आश्रित पार्क, म्यूजियम, क्यान्टीन, राजमार्ग सर्भिस सेन्टर तथा अध्ययन,अनुसन्धान केन्द्र बनाउने योजना रहेको बताए । यस्तै गाँंजीपुर स्थान जैविक विविधिताले भरिपुर्ण रहेको क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको कारण बाघहरुको ब्रिडीङ्ग केन्द्रको रुपमा विकसित गर्ने योजना रहेको बताए । यस योजनामा जैविक विविधिता सेन्टर, र बांँस तथा निगालोको पकड क्षेत्र भएकोले त्यस क्षेत्रका लागि यसबाट उत्पादित विभिन्न सामाग्री उत्पादन गर्दै स्थानीयलाई रोजगारी सिर्जना गर्न सकिने यस बृहत योजनामा उल्लेख छ ।
सो अवसरमा दासढुंगादेखि गाँजीपुरसम्म क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका वडाहरुमा पर्ने पर्यटकीय गन्तव्यलाई स्तरोन्नती गर्न जनप्रतिनिधिहरुले सुझाव दिएका छन । वडा नम्बर २९ का वडा अध्यक्ष मानबहादुर रानामगरले कतिपय जनमानसले राजमार्गमा रहेको दासढुंगानै थाहानपाएको कारण यसलाई चिनाउने गरी योजना बनाउन सुझाव दिए । विगत २६ बर्षदेखि यस ठाउंँको संरक्षण गर्न नसकेको भन्दै यसको संरक्षण र मर्मत सम्भार गर्न सके दासढुंगाले प्रशस्त पर्यटक तान्न सकिने उनले बताए।
महानगरका प्रत्येक वडाहरुले फरकफरक पर्यटकीय संभावना बोकेको भन्दै वडा नम्बर २४ का अध्यक्ष आश बहादुर कुमालले यस वडा पर्यापर्यटनको लागि उपयुक्त स्थान भएको भन्दै यहाँको दुई नदीको संगमस्थलमा रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सुझाव दिए । पछिल्लो समय नारायणी नदी किनारमा मानिसहरुको आर्कषण बढेको भन्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले नारायणी नदीको वीचमा रहेको नगरवनलाई खुल्ला चिडीयाखानाको रुपमा विकास गर्नुपर्ने जोड दिए
। ठिमुरामा रहेको ५० विघा खाली जग्गालाई जलगतिविधिको रुपमा प्रयोग गर्नुपर्ने भन्दै प्रधानले नारायणी नदीमा थुप्रै जलगतिविधि तथा जलपर्यटनको प्रशस्त संभावना रहेको बताए । सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले चितवनमा प्रशस्त संभावना बोकेको दुई नदी नारायणी र राप्ती रहेको भन्दै ठीक समयमा ठीक निर्णय गर्न सकेको खण्डमा चितवनले पर्यटन क्षेत्रमा फड्को मार्ने बताइन । कुनैपनि योजना कार्यन्वयन र व्यवस्थापन गर्न कठिनाई हुने भन्दै उनले सम्बन्धित सबैसंँग छलफल गरी अघि बढेको खण्डमा योजना सफल हुने धारणा राखिन ।
मानव सभ्यताको विकास नदी किनारबाट भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवालीले यस परियोजनाले सिंगो देशलाइनै पाठ सिकाउने गरी नमुना मोडलको विकास गर्नुपर्ने सुझाव दिए । कार्यक्रम मदनभण्डारी फाउण्डेशनका अध्यक्ष एवं परियोजनाका संयोजक तिलचन्द्र भट्टराईले दासढुंगा देखि गांँजीपुरसम्मको एकीकृत विकासका लागि गुरुयोजनाको खाका कोरिएको जानकारी दिदै सबै पक्षको सुझाव अनुसार स्थानीय, प्रदेश र संघीय सरकारमा गुरुयोजना पेश गरिने बताए ।
यस परियोजना को काम शुरु गर्न आर्थिक बर्ष ०७६÷ ०७७ मा बजेटसमेत निकासा गर्ने तयारी गरेको समेत उनले जानकारी दिए । उहांँले दासढुंगादेखि गांँजीपुर सम्मका स्थानहरु देवघाट, नगरवन, दियालो वंगाला, काभ्रेघाट लगायतका क्षेत्रहरुको गुरुयोजना तयार भएको र केशी गुरुयोजना बनाउन बांँकी रहेको बताउनु भयो । सहभागी अन्य वक्ताहरुले नारायणी नदी किनारलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउनु पर्ने, नगरवनमा उत्कृष्ट होटल खोल्नुपर्ने, ज्ञानेश्वर सामुदायिक वन नजिक खुल्ला पौडी केन्द्र संचालन गर्नुपर्ने , सामुदायिक होमस्टेको अवधारणा ल्याउनुपर्ने भन्दै सुझाव दिएका थिए ।
परियोजनामा सो दुरीका क्षेत्रहरुमा दुइदेखि चारलेन सहितको मोटरबाटो तथा फुटपाथ निर्माण गर्नुका साथै हरियाली वातावरण कायम गरिने बताइएको छ । कार्यक्रममा विज्ञ टोलीका वरिष्ठ सिभिल इञ्जिनयर गुनराज घिमिरे, वातावरण इञ्जिनियर अभिशेक यादव,अर्थशास्त्री, कपिल सुवेदी, जनसम्पर्क संयोजक सम्भू सुवेदी र आर्टिटेक्ट नवीन घिसिङ्गको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया