राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्राबास सञ्चालन

भरतपुर, जेठ ७ – चितवनको राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्राबास सञ्चालन गरेको छ । नगरपालिकाले नगरका दुई विद्यालयबाट छात्राबासको शुरुआत गरेको हो । नगरपालिकाको वडा नं ११ को थाकलटार मावि र वडा नं १२ को यौरालीटारमा छात्राबास सञ्चालन गरिएको छ ।
थाकलटार माविको छात्राबास सञ्चालनमा आइसकेको छ भने यौरालीटारमा भवन निर्माण अन्तिम चरणमा छ ।भौगोलिक विकटताका कारण विद्यालय आउन समस्या हुने विद्यार्थीलाई लक्षित गरी छात्राबास सञ्चालनमा ल्याइएको राप्ती नगरपालिकाका शिक्षा शाखा अधिकृत हुमाकान्त अधिकारीले जानकारी दिए ।
उनले माध्यमिक तहका विद्यार्थी दुई/तीन घण्टा लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेका कारण नियमित विद्यालय आउन नसकेको बताए । “शुरुआतमा दुई विद्यालयमा छात्राबास शुरु भएको छ”, अधिकारीले भने, “आवश्यकता र प्रभावकारिताका आधारमा यसलाई थप गर्दै लैजान्छौँ ।”
उनले छात्राबासमा सुत्ने, खाना पकाउने ग्यास र भाँडाकुँडाको मात्रै व्यवस्था नगरपालिकाले गरेको बताए । खानेकुरा विद्यार्थीले आफैँ घरबाट ल्याउने गरेका छन् । यस्तै राप्ती नगरपालिकाको वडा नं १३ कान्दामा पनि लक्ष्मी प्रतिष्ठानले छात्राबास सञ्चालनमा ल्याएको छ ।
कान्दामा सबै चेपाङ बालबालिका अध्ययन गर्छन् भने थाकलटार र यौरालीटारमा अधिकांश चेपाङ र जनजाति समुदायका विद्यार्थी अध्ययन गर्छन् । यौरालीटारको गणेश माविको छात्राबास भवन निर्माणको काम अन्तिम चरणमा रहेको र यही महीनाभित्रै निर्माण सम्पन्न हुने प्रधानाध्यापक रामकृष्ण प्रजाले जानकारी दिए ।
उनले असारपछि छात्राबास सञ्चालन गर्नेगरी तयारी गरिएको बताए । शान्तिगृह नेपालले रु ४९ लाख ६२ हजारमा छात्राबास भवन निर्माण गरिदिएको हो । त्यसको व्यवस्थापन भने नगरपालिकाले गर्नेछ ।“छात्राबासमा ५० विद्यार्थी राख्ने योजना छ”, प्रजाले भने , “यसले विद्यालयको शैक्षिक अवस्था सुधार हुने आशा राखेका छौँ ।”
गणेश माविमा राप्ती नगरपालिकाको वडा नं ७, ११, १२, १३ र मकवानपुरको राक्सिराङबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । स्कूल आउन जान दैनिक चार/पाँच घण्टा हिँड्नुपर्ने भएपछि माध्यमिक तहका धेरै विद्यार्थी नियमित विद्यालय आउन नसकेको प्रजाले बताए ।
थाकलटार माविका प्रधानाध्यापक सोमबहादुर लामाले छात्राबासमा सात विद्यार्थी नियमित बस्दै आएको बताए । उहाँले भने , “निकै टाढाका विद्यार्थी मात्रै यहाँ बस्ने गरेका छन्, अन्य विद्यार्थी ट्युसन, कोचिङ शुरु भएपछि छात्राबासमै बस्छन् ।” विद्यालयमा ४२२ विद्यार्थी छन् । बस्ने व्यवस्था भए पनि खानेकुराको प्रबन्ध नहुँदा समस्या हुने गरेको लामाले बताए । राप्ती नगरपालिकामा प्रावि, निमावि र मावि गरेर ५० विद्यालय छन् । (रासस)
तपाइँको प्रतिक्रिया