बाग्लुङमा बाटो खन्ने क्रममा लडेर मजदुरको मृत्यु
बलेवा, जेठ ७ – कालीगण्डकी करिडोरको बाग्लुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ ।
बाग्लुङ –बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा पहराबाट ३० मिटर तल सडकमा खसेका थिए ।
घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बाग्लुङ ल्याएको थियो । अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले जानकारी दिए । मृतकको शव परीक्षणपछि धवलागिरि अञ्चल अस्पतालमा राखिएको छ ।
नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बाग्लुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो । अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ । (रासस)
तपाइँको प्रतिक्रिया