आत्मनिर्भर बन्न उद्योगधन्दामा लगानी गर्नुपर्नेमा जोड

जेष्ठ ४, चितवन । स्वदेशी वस्तुमा आत्मनिर्भर बन्न र व्यापारघाटा कम गर्न उद्योगधन्दामा लगानी गर्नुपर्नेमा जोड दिइएको छ । स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न उद्योगको विस्तार विना संभव नहुने व्यवसायीले बताएका हुन । कृषिजन्य पदार्थको उत्पादन बृद्धि गरेमात्र खाद्यान्न आयात कम गर्न सकिने उनीहरुको भनाई थियो ।
आज चितवन उद्योग संघको १९ औं वार्षिक साधारण सभामा सहभागी उद्योग व्यवसायीले लगानीमैत्री वातावरण र उद्योगमैत्री वातावरण बनाउन सरकारसंँग माग गरे ।
सो अवसरमा बोल्दै पोल्ट्री एवं वर्डफ्लु विज्ञ डाक्टर होम बहादुर बस्नेतले हल्लाको भरमा पोल्ट्री व्यवसाय धराशायी भएको बताए । एकमात्र आत्मनिर्भर रहेको यस क्षेत्रको प्रर्वद्धन गर्नुपर्ने उनको भनाई थियो । ‘वर्डफ्लु कुनै ठूलो रोग होइन , जसरी मानिसमा ह्युमन फ्लु हुन्छ’। कुखुराको मासु प्रयोग गर्दा वर्डफ्लुको भाइरस सामान्य भन्दा सामान्य तापक्रममा मर्ने उनले बताए । पोल्ट्री क्षेत्रले कुल ग्राहस्थ उत्पादनको २ दशमलब ५ प्रतिशत योगदान दिएको भन्दै यस क्षेत्रलाई सबैले जोगाउनु पर्ने उनले धारणा राखे ।
उद्योग वाणिज्य संघ, मकवानपुरका अध्यक्ष नवराज ढकालले राज्य औद्योगिक विकासको लागि उदासिन भएको भन्दै उद्योगक्षेत्रको प्रर्वद्धन गर्नुभन्दा आयात गर्न उद्धत रहेको बताए । ‘राज्य आयात प्रतिस्थापनको लागि गम्भिर छैन, रेमिट्यान्सको भरमा देश चल्नुपर्ने बाध्यता छ ।’उनले भने । आफूले राज्यले तोकेको कर तिरिरहँदा पनी अपराधीको व्यवहार पाएको उनको भनाई थियो । राज्यलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन बढाउंँदै नेपालीले स्वदेशकै उत्पादन प्रयोग गरिनुपर्ने उनको जोड थियो । उद्योग वाणिज्य संघ नारायणगढका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले अहिले व्यापारघाटा २४ प्रतिशत वृद्धि भएको भन्दै उनले सरकारको मुख नताकि उद्योग व्यवसायी एकजुट हुनुपर्ने बताए ।
घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशमान सिंहले साना घरलु उद्योगहरुको विस्तार गर्नसके दैनिक उपभोग्य वस्तु मा आत्मनिर्भर हुनुका साथै प्रशस्त रोजगारी सिर्जना गर्नुपर्ने बताए । कृषि उत्पादन गर्ने उद्योगहरुको संख्यामा बृद्धि हुनसके आयात प्रतिस्थापनको साथै निर्यात गर्न समेत नेपाल सक्षम हुने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषि उद्योगको विस्तार गरेमात्र देश आत्म निर्भर हुने बताए । देश आर्थिक समृद्धितर्फ लैजान कृषि, उद्योग , पर्यटन प्रमुख बिषय भएको भन्दै्र यस क्षेत्रतर्फ सरकारले पहिलो प्राथमिकता दिने बताए । कृषि, पर्यटन र उद्योग मार्फत् देशमै रोजगार प्रदान गर्न सकिने उनको धारणा थियो । बन्द भएका रुग्ण उद्योग सञ्चालन र नयाँ उद्योग स्थापनामा सरकारले जोड दिएको उनले बताए । सामुहिक खेती प्रणालीबाट उत्पादनमा बृद्धि गर्नसक्ने भन्दै्र बांँझो जग्गालाई आधुनिक प्रविधिको प्रयोग गरी कृषिजन्य उत्पादन बढाउन सकिने उनको भनाई थियो । ‘यही प्रणाली मार्फत चितवनमा माडीमा सामूहिक माछा पालन समेत यस वर्षदेखि सुरु भएको छ ’ उनले भने ।
कार्यक्रममा सहभागी अन्य वक्ताले चितवनलाई आर्थिक राजधानीका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नेकपा जिल्ला नेता तेजेन्द्र खड्का, नेपाली कांग्रेस चितवनका कार्यवहाक सभापति भूपतिदास सापकोटा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, लगायतले मन्तव्य राखेका थिए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया