काठमाडाैं,बैशाख ३१- भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन्। तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन्। पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन्।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ। श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ। पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बौं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ। कोष सञ्चालक परिषद्का कोषाध्यक्ष एवम् समितिका संयोजक डा। मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेका अझै धेरै जग्गा गायब पारिएको हुनसक्ने बताए।
हालसम्म पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीनवटा समिति बनिसकेका छन्। संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो। त्यो समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन। त्यसपछि कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको संयोजकत्वमा जग्गा छानबिनका लागि समिति बन्यो। त्यो समितिले पनि प्रतिवेदन तयार पार्न सकेन। परिषद् सदस्य रमेशराज सिवाकोटी, मालपोत विभागका महानिर्देशक, नापी विभागका महानिर्देशकलगायत राखेर कोषाध्यक्ष थापाको संयोजकत्वमा तेस्रोपटक गठित समितिले भने प्रतिवेदन तयार पारेको छ।


