सिटी बन्यो प्रिमियर लिग च्याम्पियन

एटुजेड समाचार

बैशाख ३० – म्यानचेष्टर सिटीले लगातार दोस्रो पटक इंग्लिस प्रिमियर लिगको हात पारेको छ । गए राती सम्पन्न निकै महत्वपूर्ण खेलमा ब्राइटनलाई पाखा लगाउदै सिटीले उपाधी रक्षा गरेको हो । उपाधीका लागि जित्नै पर्ने खेलमा सिटीले ब्राइटनलाई ४-१ ले पराजित गर्‍यो । उक्त जित सँगै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधी आफ्नो नाममा गर्‍यो ।

सिटीलाई लगातार प्रिमियर लिगको उपाधी जिताउन सर्जिओ एग्युरो,एमेरिक लापोर्ट,रियाद माहरेज र इल्काए गुन्डोगनले गोल गरे । ब्राइटनका लागि ग्लेन मुरेले गोल गरे । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटी एक समय पछी परेको थियो । खेलको २७ औं मिनेटमा मुरेले गोल गर्दै पाहुना टोलीलाई निराश बनाएका थिए । तर उसको त्यो अग्रता सिटीले १ मिनेट पनि टिक्न दिएन । खेलको २८ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गर्दै खेल बराबरीमा पुराए ।

पहिलो हाफमै सिटीले अग्रता लियो । खेलको ३८ औं मिनेटमा एमेरिक लापोर्ट कर्नरमा हेडरमार्फत गोल गर्दै सिटीलाई २-१ अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्‍यो । ६३ औं मिनेटमा गोल गर्दै रियाद माहरेजले सिटीको अग्रता ३-१ मा पुराए । यस्तै ७२ औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गरेपछी सिटीले ४-१ को सहज जित हात पार्दै लिगको उपाधी आफ्नो नाममा गर्‍यो ।

अन्तिम खेलको जित सँगै सिटीको ३८ खेलबाट ९८ अंक भएको छ । उसले ३२ जित पारेको छ भने २ बराबरी गर्दा ४ खेलमा भने हार व्यहोरेको छ । उता लिभरपुलले भने दोस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । उसको ३८ खेलबाट ९७ अंक भएको छ । लिभरपुलमा लिगमा ३० खेलमा जित हात पार्दा ७ मा बराबरी गरेको छ भने मात्र १ खेलमा हार व्यहोरेको छ ।

यसै बिच गए राती सम्पन्न लिगको अन्तिम खेलमा लिभरपुलले वल्भ्सलाई २-० ले पराजित गरेको छ । उक्त जित पछी पनी लिभरपुल तालिकाको दोस्रो स्थानमा नै रहदै लिगको अन्त्य गर्न वाध्य भएको छ ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू