रोमान्चक जित हात पार्दै मुम्बई बन्यो आइपिएल च्याम्पियन

बैशाख ३० – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को बिजेता बनेको छ । गए राती सम्पन्न खेलमा चेन्नाई सुपर किंग्स बिरुद्द १ रनको रोमान्चक जित हात पार्दै मुम्बईले आइपिएलको उपाधी जितेको हो ।
रोमान्चक फाइनलमा चेन्नाईलाई जितका लागि अन्तिम १ बलमा २ रनको आवश्यकता रहेको थियो । स्ट्राईकमा सार्दुल ठाकुर रहेका थिए भने बलिङमा लासिथ मालिङ्गा रहेका थिए । मालिङ्गाले अन्तिम बलमा ठाकुरलाई एलबिडब्लु धरापमा पार्दै आउट गराए पछी मुम्बईले उपाधी जितेको हो । यो सँगै मुम्बईले चौथो पटक आइपिएलको उपाधी रक्षा गरेको छ ।
मुम्बईले दिएको १५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको चेन्नाई निर्धारित २० ओभरमा १४८ रनमा समेटियो । चेन्नाईका सेन वाट्सनले बिष्फोटक ब्याटिङ गर्दै ८० रन बनाएर टोलीलाई जित तर्फ उन्मुख गराएका थिए । तर वाट्सन आउट भए पछी अन्य ब्याट्सम्यानले टोलीलाई जिताउन सकेनन् । वाट्सनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस अघी ओपनर फाफ डु प्लेसिस २६ रन बनाएर आउट भए ।


अन्य ब्याट्सम्यान खास्सै चल्न सकेनन् । डायन ब्राभो १५ रन बनाएर आउट भए भने कप्तान महेन्द्र सिंह धोनी २ रनमा नै पेभिलियन फर्किए । मुम्बईका जस्प्रित बुम्राहले २ तथा लासिथ मालिङ्गा, क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले समान १ विकेट लिए ।
त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले अविजित ४१ रन बनाए । उनले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर क्विन्टन डि ककले २९ रन बनाए भने इशान किसान २३ रन बनाएर पेभिलियन फर्किए ।
हार्दिक पाण्ड्या १६, सुर्यकुमार यादव र कप्तान रोहित शर्मा समान १५ रन बनाएर पेभिलियन फर्किए । चेन्नाईका दीपक चाहरले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिए । यस्तै सार्दुल ठाकुर र इम्रान ताहिरले समान २ विकेट लिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया